नेपाल भारत सीमामा झडप, सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

१० साउन, रौतहट । परोहा नगरपालिका-८ नरकटियाको नेपाल भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले हातपात गरेपछि झडप भएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरी बलका जवानहरुले रोकेका थिए ।

तर उनीहरुले सुरक्षाकर्मीमाथि हातपात गर्न खोजेपछि विवाद भएको थियो । त्यस क्रममा भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सीमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गर्दा सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घटनाले उग्ररुप लिएपछि ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मीको टोली परिचालन भएको थियो ।

सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रहृमचार्य समेत घटनास्थल पुथेका थिए ।

घटनमा संलग्न भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरी चौकी, नरकटियामा राखिएको थियो । अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्