मंगलबार थप २५९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २१ हजार नाघ्यो


मंगलबार थप २५९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी संक्रमित संख्या २१ हजार नौ पुगेको जनाएको छ।

मंगलबार काठमाडौंमा सबैभन्दा बढी संक्रमित पुष्टि भएको छ। काठमाडौंमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १३ र ललितपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ। आज सात हजार ६८५ जनाको पीसीआर रिपोर्ट आएको हो।

मंगलबार ६५ जनाको डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ। अर्थात्, संक्रमित मध्ये ७१.५ प्रतिशत निको भएर घर फर्किएका छन्। मंगलबार थपिए सहित पाँच हजार ९२५ संक्रमितको उपचार भइरहेको छ।

प्रदेश १ मा ३३४, प्रदेश २ मा दुई हजार ४२७, बागमती प्रदेशमा ७१६, गण्डकी प्रदेशमा २६३, प्रदेश ५ मा ३३५, कर्णाली प्रदेशमा २९५ र सुदूरपश्चिममा एक हजार ५५५ जना संक्रमित उपचाररत छन्।

मंगलबार संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मोरङको विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएका संक्रमितको सोमबार मृत्यु भएको हो। यो सहित मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्