सुशान्तको खाताबाट ५० करोड निकालिएको खुलासा

बलिउड अभिनेता सुशान्त सिंहको आत्महत्या प्रकरणमा सिंहकी प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गर्ने बिहार प्रहरी मुम्बई गएपछि दुबै राज्यका प्रहरीबीच तनाब चलिरहेको छ।

टाइम्स अफ इण्डियाले सोमबार बिहार प्रहरीका प्रमुख गुप्तेश्वर पाण्डेले सुशान्तको आत्महत्या प्रकरणमा पैसाको पाटोमा अनुसन्धान नगरेकोमा मुम्बई प्रहरीमाथि प्रश्न उठाएका छन्।

उनले मुम्बई प्रहरीले अनुसन्धानमा हेलचेक्र्याई गरेको आरोप लगाए।

’बितेका चार वर्षमा सुशान्त सिंहको बैंक एकाउन्टमा ५० करोड रूपैयाँ जम्मा भएको थियो र आश्चर्यजनकरुपमा ती सबै सबै रकम खाताबाट निकालिएको छ। एक वर्षमा खातामा १७ करोड जम्मा भएकोमा १५ करोड निकालिएको छ’ बिहार प्रहरीका प्रमुख पाण्डेले भने, ’के यो अनुसन्धानका लागि महत्वपूर्ण बुँदा होइन? हामी चुप लाग्नेवाला छैनौं। हामी उनीहरूलाई(मुम्बई प्रहरी) किन यस्ता महत्वपूर्ण कुरालाई दबाउने काम भयो भनेर प्रश्न गर्नेछौं।’

आइतबार उनले आफ्ना मताहतका एसपी विनय तिवारीलाई मुम्बई महानगर प्रशासनले जबरदस्ती क्वारेन्टिन राखेको विषयमा आपत्ति प्रकट गरेका थिए।

’दसीप्रमाणहरू साझा गर्ने वा सुशान्तको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट दिनुको सट्टा उनीहरूले हाम्रा एसपीलाई करिबकरिब घरमा बन्दी नै बनाए। मैले यस्तो असहयोग अरू कुनै राज्यका प्रहरीले गरेको देखेको छैन। यदी मुम्बई प्रहरी उनीहरूको अनुसन्धानमा गम्भीर भएको भए, त्यो उनीहरूले हामीसँग साटासाट गर्ने थिए’, उनले भने।

बिहार प्रहरीले यस्तो आरोप लगाएपछि मुम्बई प्रहरीका प्रहरी कमिस्नर परमवीर सिंहले आरोपको मिडियामार्फत स्पष्टिकरण पेस गर्ने प्रयास गरेका छन्।

कमिस्नरले घटनामा हालसम्म ५६ जना मानिसहरूको बयान रेकर्ड गरिएको भन्दै आफ्नो प्रहरीले गरेको अनुसन्धानको बचाउ गरे।

उनले सुशान्तले आत्महत्या गरेको अघिल्लो रात सुशान्तको बान्द्रास्थित निवासमा कसैलाई ननिकालिएको पनि दाबी गरेका छन्।

सुशान्तले जुन १४ मा आफै निवासमा पासो लगाएर आत्महत्या गरेका थिए।

सिंहले आत्महत्या गरेपछि बलिउडमा व्यापत परिवारबादले दिएको तनावले सुशान्तले आत्महत्या गर्नुपरेको आवाज मुखरित भएको थियो।

धेरैजनाले घटनाको सिबिआइ जाँच हुनुपर्ने र सिंहलाई मर्न बाध्य पार्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका थिए।

गत साता सुशान्तका पिताले आफ्ना छोराको खाताबाट १५ करोड रूपैयाँ सुशान्तसँग सरोकार नभएका खातामा पठाइएको भन्दै बिहार प्रहरीमा उजुरी गरेपछि रिया र उनका परिवारका सदस्य बिहार प्रहरीको प्रमुख शंकाको पात्र बनेका छन्।

उजुरीपछि बिहार प्रहरी घटनामा प्रत्यक्ष संलग्न भएको भन्दै सुशान्तकी प्रेमिका रियालाई अनुसन्धानका लागि पक्राउ गर्न र घटनाका बारेमा मुम्बई प्रहरीले जम्मा गरेको प्रमाणका दस्तावेज लिन मुम्बई पुगेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्