भदौ ८, बैतडी- सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ।
हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताईन्। बरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ। उनले भनिन्, “आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ। बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन्।”
पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए। दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ।
भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ। तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ।
यो वर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयवासीले बताएका छन्। कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका–२ का गणेशबहादुर बोहराले बताए। यो वर्ष सांस्कृतिक पर्वका रूपमा मात्रै गौरा मनाइँदैछ।
गौराको समयमा सामूहिक खेलिने ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेलहरु यो वर्ष नहुने भएका छन्। सामूहिकरूपमा भीडभाड गरेमा कोरोना जोखिम बढ्नै भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।