कञ्चनपुरमा सीमास्तम्भ गायब, काठे खम्बाको भरमा छु्टीन्छ नेपाल- भारत

देवेन्द्र खड्का

महेन्द्रनगर । नेपालको पश्चिमी सीमा एउटा काठको खम्बा (पिल्लर) ले विभाजित छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारनजिकै भारतीय पक्षले एउटा काठको खम्बालाई सीमास्तम्भ मान्दै आएको छ ।

स्थानीय कृष्ण आउजीको लालपुर्जा भएको जग्गाको बीचमा गाडिएको मसिनो काठको खम्बालाई नै भारतीय पक्षले जंगे पिल्लर मान्दै आएको ब्रह्मदेवस्थित बिओपीका प्रमुख प्रहरी निरीक्षक रामराज खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सो क्षेत्रको सीमास्तम्भ नम्बर ८१०÷२ लाई सशस्त्र प्रहरीले हराएको सूचीमा उल्लेख गरेको छ । गुगल नक्साअनुसार भारतले दाबी गरेको सो काठको खम्बा रहेको स्तम्भभन्दा केही पश्चिम महाकाली नदीतिर सीमा देखाउने गरेको छ ।’ भारतीयहरूले दाबी गरेको उक्त सीमा क्षेत्रका केही पनि प्राकृतिक स्रोत उपभोग गर्न नदिएको स्थानीय बताउँछन् । ‘गत वर्ष तिहारमा यो खम्बाभन्दा केही परबाट एसएसबीले हामीलाई माटोसमेत ल्याउन दिएन ।’ स्थानीय पार्वती तिरुवाले भन्नुभयो ।

सीमा स्तम्भ नम्बर ८११ र ८१०÷२ स्पष्ट नहुँदा सो क्षेत्रमा भारतले नेपाली भूमि कब्जा गर्ने गरेको छ । स्थानीय गणेश आउजीका अनुसार उक्त काठको खम्बा भएको ठाउँमा पहिला आफूले कहिल्यै अरू सीमा स्तम्भजस्तै सिमेन्टले निर्माण गरिएको स्तम्भ देखेको छैन । उहाँले भन्नुभयो, ‘म जन्मिएको २५ वर्ष भयो । अहिलेसम्म त्यही काठको पिल्लर देख्दै आएको छु, त्यहाँ सिमेन्टले निर्माण गरिएको पिल्लर देखेको छैन ।’

घर–शौचालय निर्माणमा रोक

ब्रह्मदेव बजार क्षेत्रभन्दा केही तल भारतले एकलौटी रूपमा निर्माण गरेको सीमा संकेत स्तम्भ वरपर घना नेपाली बस्ती छ । तर त्यहाँ भारतीय पक्षले भने नेपालीहरूलाई कुनै पनि संरचना निर्माण गर्न दिएको छैन । विकासको पूर्वाधार सडकदेखि बसोबासको लागि घरसमेत बनाउन नदिएको स्थानीहरू बताउँछन् । यति मात्र होइन शौच गर्नका लागि स्थानीयहरूले बनाउन थालेको शौचालय निर्माणमा समेत भारतीय पक्षले अवरोध सिर्जना गरेको उनीहरूको गुनासो छ ।

अवरोधका साथसाथै नेपाली भूमिलाई भारतीय भूमि दाबी गर्दै आफूहरूलाई यहाँबाट अन्यन्त्र सर्न दबाब आउने गरेको स्थानीयले गुनासो गरेका छन् । ‘घर अगाडि नेपाली भू–भागमा रहेको सानो स्तम्भ अस्थायी नहरको लागि गाडिएको थियो । भारतले त्यसैलाई सीमा स्तम्भ मानेको छ’ लक्ष्मी सार्कीले भन्नुभयो ।

११ स्तम्भ गायब

जिल्लाको उत्तरी क्षेत्रमा मात्रै नेपाल–भारत सीमा छुट्याउने ११ वटा सीमास्तम्भ गायब छन् । नेपालको पश्चिमी सीमा नाका कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको दशगजामा राखिएको ११ सीमास्तम्भ गायब पारिएका छन् । ब्रह्मदेवस्थित बोर्डर आउट पोष्ट (बिओपी) का अनुसार आफ्नो क्षेत्रअन्तर्गत पर्ने ४० सीमा पिल्लरमध्ये ११ सीमा स्तम्भ गायब भएका छन् ।

सीमा स्तम्भ नम्बर ८१३, ८१३÷१, ८१३÷२, ८१४, ८१४÷१, ८१४÷२, ८१५, ८१५÷१, ८१५÷२ र ८१६, ८१६÷१ स्तम्भ गायब पारिएको ब्रह्मदेव स्थित बोर्डर आउट पोष्ट (बिओपी) ले जनाएको छ ।

सबैभन्दा बढी विवाद सीमास्तम्भ नम्बर ८११ र ८१०÷२ रहेको सशस्त्र प्रहरीले जनाएको छ । गायब पारिएका स्तम्भमा धेरैजसो पानीमा डुबेको तथा हराएर फेला नपारिएको जनाइएको छ ।

सीमास्तम्भ नम्बर ८११ र सहायक सीमा स्तम्भ ८१०÷२ हराएको सूचीमा छन् । ती हालसम्म पनि भेटिएका छैनन् । यद्यपि भारतले भने उक्त सीमास्तम्भका ठाउँमा कतै काठको पिल्लर, कतै अस्थायी पिल्लर मानेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्