असोजदेखि सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

काठमाडौं । यातायात व्यवसायीहरूले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनबीच बुधवार भएको छलफलमा असोज १ गतेदेखि लामो÷छोटो दुवै दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि बन्दाबन्दी गरेर सार्वजनिक यातायात सञ्चालन निषेध गरेको थियो । ४ महीना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते काठमाडौं उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा जिल्लाभित्र मात्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यसपछि व्यवसायीले ४ महीनासम्म ग्यारेजमै थन्किएका सवारीसाधन सामान्य मर्मत गरेर सडकमा गुडाएका थिए । तर, सरकारले भदौ ३ गतेदेखि पुनः काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा र अन्य जिल्लाहरूले पनि बन्दाबन्दी गरेपछि सार्वजनिक यातायात बन्द थिए ।

निषेधाज्ञा लगाएर सार्वजनिक यातायात बन्द गरेपछि रुष्ट व्यवसायीले सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै योजना नबनाएको आरोप लगाएका छन् । अब पनि सरकारले निषेधाज्ञा जारी राखे आपैm सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको चेतावनी छ ।

सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने निर्णयसहितको माग गरी व्यवसायीहरू यातायात व्यवस्था विभागमा पुगेका थिए । उनीहरूले विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारसँग यातायात सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।

‘हामीले यातायात खोल्नुपर्ने माग राखेका छौं । सरकारले नखोले स्वःस्फूर्त रूपमा चलाउँछौं,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने ।

उनका अनुसार अब निषेधाज्ञा थपिए पनि त्यसलाई व्यवसायीले प्रतिकार गर्नेछन् । सरकारले बनाएको मापदण्डअनुसार सीट क्षमताभन्दा आधा यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गरिने उनको भनाइ छ । महासंघका अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजारभन्दा बढी मालवाहक सार्वजनिक सवारीसाधन छन् । यस क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६ लाख चालक÷सहचालक रहेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले व्यवसायीका मागबारे मन्त्रालयलाई जानकारी दिने प्रतिबद्धता जनाएका छन् । ‘यातायात खोल्ने/नखोल्ने निर्णय मन्त्रिपरिषद्ले गर्छ, यसमा विभागको कुनै अधिकार हुँदैन,’ व्यवसायीले निषेधाज्ञा लागू भए पनि त्यसलाई उल्लंघन गरेर सार्वजनिक यातायात चलाउने चेतावनी दिएकै साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

तर, व्यवसायीले जिल्लाभित्र मात्र नभई देशव्यापी रूपमै सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने दिनुपर्ने माग राखेका छन् । ‘सरकारबाट जोरबिजोरमा यातायात चलाउन दिने भन्ने सुनियो,’ महासंघ अध्यक्ष कर्माचार्यले भने, ‘जिल्लाभित्र मात्र यातायात चलाएर काम छैन । हामी १ गतेबाट लामो दूरीसहितका सबै सवारी चलाउँछौं ।’ उनले बिहीवार यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटेर यसबारे जानकारी गराइने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्