नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं, भदौ ३१
पहाडबाट झरेको लेदो सडकमा थुप्रिँदा नारायणगढ(मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

निरन्तर वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका(६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा बुधबार बिहान ६ बजेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङले बताए। पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङको भनाई छ।

‘खासै धेरै लेदो झरेको छैन। तर झर्ने क्रम रोकिएको पनि छैन’, तामाङले भने, ‘हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ।’ निरन्तर पहिरो झरिरहँदा नारायणगढ मुग्लिङ सडकखण्ड पटकपटक अवरुद्ध हुँदे आएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्