चिनियाँ दूतावासले भन्यो: ‘भवन बनाएको क्षेत्र चीनकै हो, नेपालले थप प्रमाणीकरण गर्न सक्छ’

काठमाडौं, असोज ७
हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ।

दूतावासका प्रवक्ताले मंगलबार राति पठाएको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ।

दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको दोहो¥याएको छ।

यस्तो छ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठ

‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ। नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ। चीन र नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन्।’

हुम्लाको नाम्खा गाउँपालिका ६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले समेत भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्थलगत अध्ययन गरी चिनियाँ पक्षसँग छलफल समेत गरेको थियो।

प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले त्यो क्षेत्रमा पुगेर चिनियाँ पक्षसँग छलफल गरेको तर दुवै पक्षले आआफ्नो भूभाग भएको दाबी गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मंगलबार बिहान नेपालखबरलाई बताएका थिए।

‘चिनियाँ सेनाले नक्सा नै देखाएर त्यो भाग आफ्नो भएको दाबी गरेको थियो। नेपाली सेनाले पनि नक्सा देखाउँदै त्यो भाग नेपालमा पर्ने दाबी गरेको थियो। तर ११ नम्बर पिलर पत्ता नलागी प्रस्ट हुने अवस्था छैन’, अध्यक्ष तामाङले भने।

अध्यक्ष तामाङले अब ११ नम्बर पिलर खोज्ने र चिनियाँ पक्षसँग छलफल गर्ने काम राज्यको नेतृत्व तहले नै गर्नुपर्ने बताएका थिए।

मंगलबार रातीसम्म यसबारे नेपालको परराष्ट्र मन्त्रालयले केही बोलेको छैन।-नेपालखबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्