७–१० नयाँ मन्त्री थप्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौंरसंघीय मन्त्रिमण्डल पुनगर्ठन गर्न अझै केही समय लाग्ने भएको छ। सचिवालय बैठकले मंगलबार पार्टी एकताको बाँकी काम १० दिनमा सक्ने निर्णय गरेपछि मन्त्रिमण्डल परिवर्तन केही पर धकेलिने नेताहरु बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालनिकट स्रोतहरुका अनुसार अब दशैँपछि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने देखिन्छ।

‘अब दशैँअघि मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना न्यून हुँदै गएको हो कि भन्ने लागेको छ,’ एक सचिवालय सदस्यले भने, ‘दशैँ नजिकै आइसक्यो। पार्टी एकताको बाँकी काम सक्न दश दिन समय लिएपछि बाँकी समयले नपुग्ला।’

प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठनलाई पछि धकेल्ने मनस्थितिमा रहेको उनीनिकट एक मन्त्रीले बताए।

‘प्रधानमन्त्रीले अझै केही समयपछि मात्र मन्त्रिमण्डल पुनर्गठन गर्ने बताउनुभएको छ,’ एक मन्त्रीले भने।

प्रचण्डनिकट नेताहरु पनि पार्टी एकताको काम सकेर मात्र मन्त्रिमण्डल पुनर्गठन गर्ने मनस्थितिमा दुवै अध्यक्ष पुगेको बताउँछन्।

‘मन्त्रिमण्डल पुनर्गठन अब दशैँपछाडि जाने देखियो,’ एक स्थायी समिति सदस्यले भने, ‘त्यस विषयमा प्रधानमन्त्रीसँग छलफल भएपनि टुंगिएको छैन, अब अलि पछि नै जाला जस्तो देखिन्छ।’

प्रचण्ड तत्काल मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई गति दिनुपर्ने अडानमा छन्। तर, नजिकिँदै गरेको दशैँ र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि यसलाई समय दिन उनी सहमत भएको प्रचण्डनिकट नेताहरु बताउँछन्।

वरिष्ठ नेता झलनाथ खनालले भने दशैँअघि नै मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने सम्भावना बाँकी नै रहेको बताए।

‘दशैँअघि पुनर्गठन हुनपनि सक्छ, उहाँहरु (ओली–प्रचण्ड)ले आपसी सल्लाह गरेर हामीसँग छलफल गर्नुभयो भने हुन्छ,’ खनालले भने।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ७ देखि १० जना नयाँ मन्त्री बनाउने तयारी छ। त्यसमा कार्य सम्पादन क्षमता र वरिष्ठतालाई मुख्य मापदण्ड बनाइने छ।

प्रधानमन्त्री ओलीले सरकारको कामलाई तीव्रता दिने भन्दै मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। यसका लागि प्रधानमन्त्रीबाहेक सबै परिवर्तन गर्ने, २ वर्ष पुगेकाहरु सबै हटाएर नयाँ ल्याउने र आंशिक परिवर्तन गर्ने गरी तीन विकल्पमा छलफल चलेको थियो।

भदौ २६ गते बसेको स्थायी समितिको बैठकले तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गर्दै अन्तर पार्टी निर्देशिका जारी गरेको थियो।

नेकपाको आइतबार बसेको सचिवालय बैठकको मुख्य एजेन्डा मन्त्रिमण्डल पुनर्गठन थियो। बैठकले मन्त्रीहरुको मापदण्ड निर्धारण गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएपछि सोमबार ओली र प्रचण्डले बालुवाटारमा छलफल पनि गरेका थिए।

तर, मंगलबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल परिवर्तन गर्ने विषयमा सामान्य बाहेक छलफल नै नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

श्रेष्ठले पनि छिटोभन्दा छिटो मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारको कामलाई गतिदिन सचिवालयले सुझाव दिएको बताए।

‘मन्त्रिमण्डल पुनर्गठनबारे मुख्यतः प्रधानमन्त्रीले सोच्नुपर्छ,’ श्रेष्ठले भने, ‘यसबारे स्थायी समितिको सर्वसम्मत निर्णय र अहिले सचिवालयको निर्णय पनि सरकारको काम अझ व्यवस्थित र प्रभावकारी बनाउन छिटो भन्दा छिटो सरकार पुनर्गठन गर्नुपर्छ भन्ने हो।’

मन्त्रिमण्डल पुनर्गठन गर्दा कसरी गर्ने भन्ने विषयमा ओली र प्रचण्डबीच सहमति जुट्न बाँकी छ।

सोमबार यही विषयमा छलफल गर्न बालुवाटारमा ओली–प्रचण्डबीच छलफल भएको थियो तर, कतिजना फेर्ने, कसकसलाई मन्त्रीमै राखिराख्ने भन्ने विषयमा सहमति जुटेको छैन। सहमतिका लागि केही समय लाग्ने नेताहरुको भनाइ छ।

मंगलबारको बैठकले १० दिनमा पार्टी एकताको सबै काम सक्ने निर्णय गरेको छ। त्यसका लागि कार्ययोजना ल्याउन सचिवालयले अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी दिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्