कात्तिक १ देखि अनराइभल भिसा खुला

सातदिने अनिवार्य क्वारेन्टाइनको प्रावधानमा व्यवसायीको आपत्ति

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गर्ने भएको छ ।

कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने विषयमा अन्योल थियो । पर्यटन व्यवसायीहरूले पदयात्रा र पर्वतारोहण खुला गरे पनि अनराइभल भिसाका बारेमा निर्णय नगर्दा नेपाल आउन चाहने पर्यटक अन्योलमा परेको भन्दै सरकारसँग पटकपटक अनराइभल भिसा खुला गर्न माग गरेका थिए ।

पर्यटन मन्त्री योगेश भट्टराईले अनअराइभल भिषाको पेमेन्ट सिस्टमलाई समेत सहजीकरण गर्ने गरी नेपाल राष्ट्र बैंक तथा गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय भइरहेको बताएका छन् । अब नेपाल आउन चाहने पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर आउन सक्ने उनले बताए ।

समूहमा नेपाल आउने पर्यटकहरूका लागि अनराइभल भिसा खुला गरिएको र नेपाल आउने पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानसहित मापदण्ड लागू गरिएको पर्यटन विभागका महानिर्देशक रूद्र सिंह तामाङले जानकारी दिए । अब पर्यटक नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर बराबरको प्रतिव्यक्ति बीमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।

पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बीमा गर्नुपर्ने छ ।

सरकारको यो निर्णयमा पर्यटन व्यवसायीहरूले भने असहमति व्यक्त गरेका छन् । उनीहरूले पर्यटन चलायमान बनाउन गरिएको निर्णय स्वागतयोग्य भए पनि पर्यटकको क्वारेन्टाइन बसाइ, पीसीआर टेस्टलगायत मापदण्ड अव्यावहारिक भएको प्रतिक्रिया दिएका छन् । विदेशबाट पीसीआर गरेर आएपछि ७ दिन लामो क्वारेन्टाइन र पुनः पीसीआर जस्ता मापदण्ड आवश्यक नभएको उनीहरूको धारणा छ ।

पर्यटन व्यवसायीहरूले दिएको सुझावविपरीत सरकारले यो निर्णय गरेकाले त्यसप्रति आपूmहरूको असहमति रहेको नेपाल एशोसिएशन अफ टुर एन्ड ट्रावल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले बताए ।

उनले अनराइभल भिसा सहज रूपमा दिनुपर्ने र क्वारेन्टाइनको अवधि घटाउनुपर्ने माग गरे । व्यवसायीहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै पीसीआर गर्ने वातावरण मिलाउनुपर्ने मागसमेत गरेका छन् ।

७२ घण्टाको रिपोर्ट भए पनि जहाजमा आउँदा र अन्य देशको विमानस्थल प्रयोग गर्दा कतै कोरोनाको संक्रमण हुन सक्ने भएकाले विमानस्थलमै पर्यटककै खर्चमा पीसीआर टेस्ट गराउने र छोटो समयमै रिपोर्ट आउने वातावरण मिलाउन सके राम्रो हुने व्यवसायीको धारणा छ ।

पर्यटन मन्त्री भट्टराईले भने अहिले नै पहिले जस्तो गरेर पर्यटक आगमन खुला गर्ने अवस्था नरहेको बताएका छन् । ‘अब कोभिडसँग भागेर होइन जुधेर हिँड्नुपर्ने समय आएको छ । तर, यसको अर्थ सबै सहज भइसक्यो भन्ने होइन । सबैले आआफ्नो प्राटोकल पालना गरेर सचेत भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्