अब सुदूरपश्चिमका तीन पहाडी जिल्लाबाट नियमित हवाई उडान

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा अब नियमित हवाई उडान हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

तीन जिल्लामा परीक्षण उडानका लागि पर्यटनमन्त्री योगेश भट्टराईसहितको टोली शनिबार धनगढीबाट विमान लिएर डोटी पुगेको हो ।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलबाट मात्र नियमित उडाउन हुँदै आएकामा अब तीन पहाडी जिल्लाबाट पनि नियमित हवाई उडान हुने मन्त्री मन्त्री भट्टराईले जानकारी दिए ।

‘धनगढीसँगै अब पहाडी तीन जिल्लामा पनि नियमित उडान हुनेछ’, उनले भने, ‘प्रदेशभित्र लामो समयदेखि बन्द रहेका बाँकी जिल्लाबाट पनि नियमित उडानका लागि मन्त्रालयले काम गरिहेको छ ।’

यसअघि सञ्चालनमा रहेका तर बीचमा लामो समय बन्द हुन पुगेका प्रदेशभित्रका सबै विमानस्थललाई थप स्तरोन्नति गरेर छिट्टै नियमित उडानका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले पहिलो चरणमा बैतडी, डोटी र बझाङबाट नियमित उडान सुरु गरिने बताउँदै त्यसलगत्तै दार्चुला र अछाममा पनि नियमित उडानको योजना रहेको सुनाए । बैतडी, ‘डोटी र बझाङमा प्रत्येक साता दुई दिन विमान पु¥याउने लक्ष्य छ’, मन्त्री भट्टराईले भने ।

उनले प्रदेशका पहाडी जिल्लामा नियमित हवाई सेवा सुरु भए यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरे ।

शनिबार मन्त्री भट्टराईसहित १६ जना यात्रु लिएर धनगढीबाट जहाज डोटी पुगेको छ । टोलीमा मन्त्री भट्टराईसहित संघीय सांसदहरू र प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीसमेत सहभागी थिए । तीन वटै जिल्लामा परीक्षण उडानका लागि पुगेको मन्त्रीसहितको टोलीले शनिबार नै डोटी, बैतडी र बझाङमा परीक्षण उडान उद्घाटन गरेको छ ।

‘परीक्षण उडान सफल भएपछि निजी विमान कम्पनीलाई धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आग्रह गर्छौं’, मन्त्री भट्टराई भने ।

टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य प्रेम आलेले पहाडी जिल्लामा नियमित उडानपछि सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्