दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल
काठमाडौं, कार्तिक ४
भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ।

उनीहरुले यो अवधिमा नेपालका मनास्लु र लोबुचे हिमाल आरोहण गरेका छन्।

बहराइन राजकुमार मोहम्मद हामद मोहम्मद अलखालिफाको नेतृत्वमा १८ जनाको टोली नेपाल आएको थियो। जसमा ३ जना बेलायती नागरिक थिए भने १५ बहराइनी नागरिक हुन्। उनीहरु सबै बहराइन रोयल गार्डका सदस्य हुन्।

कोभिड १९ को विषम परिस्थितिमा नेपाल आएका उनीहरु सुरुमा १ हप्ता गोकर्ण रिसोर्टमा क्वारेन्टिनमा बसे। त्यसपछि क्रमशः लोबुचे र मनास्लु हिमाल आरोहण गरे।

ऋभलतगचथ mबकबबि द्द
दभजबचबष्ल उचष्लअभ जष्mब िद्द
राजकुमारको टोलीको नेपालको एजेन्सी थियो सेभेन समिट ट्रेक। एजेन्सी प्रमुख मिङ्मा शेर्पा हुन्। उनी विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली समेत हुन्। मिङ्मा शेर्पाले पनि राजकुमारसँगै हिमाल आरोहण गरे ।

‘मैले पनि राजकुमारसँग दुवै हिमाल आरोहण गरेको हुँ। उनीहरु पहिलोपटक नेपाल आएका हुन्। यसअघि कुनै पनि हिमाल आरोहण गरेका थिएनन्’, शेर्पाले नेपालखबरसँग भने, ‘उनीहरुसँग आरोहणसम्बन्धी कुनै अनुभव थिएन। नेपाल आएर नै पहिलोपटक हिमाल आरोहण गरेका हुन्।’

हिमाल आरोहण साहसिक यात्रा भएकाले पक्कै केही अप्ठ्यारो भयो तर धेरै अनुभव भएका नेपाली गाइडले राजकुमारको टोलीलाई सहजै दुवै हिमाल आरोहण गराए।

‘हिमाल आरोहण गर्दा केही अप्ठ्यारो त भइहाल्छ नै। तर हामीले सहज व्यवस्थापन गरी आरोहण गरायौँ’, राजकुमारसँगै हिमाल आरोहणको अनुभव नेपालखबरलाई सुनाउँदै शेर्पाले भने, ‘बहराइनबाट आएको टिमका १४ जना मनास्लु हिमाल आरोहण गर्न सफल भए भने १६ जनाले लोबुचे हिमाल आरोहण गरे।’

दभजबचबष्ल उचष्लअभ जष्mब िट
हिमाल आरोहण गर्दा चिसोका कारण सामान्य बिरामी भएका कारण सबैले भने आरोहण गर्न सकेनन्। १८ जनाको टोलीमा ३ जना बेलायतीले दुवै हिमाल आरोहण गरेको उनले बताए। कसैलाई रुघाखोकी लाग्यो, केही थकाइका कारण चढ्न सकेनन्। दुईवटा हिमाल छिटो छिटो चढ्दा केहीलाई गाह्रो भएको उनले सुनाए।

कुनै पनि आरोहीको हिमाल यात्रा सफल पार्न नेपाली गाइडको महत्वपूर्ण भूमिका हुन्छ। बहराइनको टोलीलाई लोबुचे हिमाल आरोहणका लागि २६ जना नेपालीले सहयोग गरेका थिए। त्यसैगरी मनास्लु हिमाल आरोहणका लागि ५३ जना गाइडले उनीहरुलाई सहयोग गरेका थिए।

‘हामीले लोबुचे हिमाल आरोहणका लागि १५ दिन समय लाग्ने आँकलन गरेका थियौँ। तर १० दिनमै आरोहण गर्यौँ। मौसम खराब हुने डरले छिटो–छिटो आरोहण गर्दा समयतालिकाभन्दा ५ दिनपहिले नै आरोहण सफल भयो’, शेर्पाले खुसीको अनुभव सुनाउँदै भने, ‘मनास्लु हिमालको लागि पेनाल्टी समय राखेर १ महिनाको समय राखेका थियौँ। मौसमले पनि साथ दियो जसले गर्दा ८ दिनमै हिमाल आरोहण गर्न सफल भयौंँ।’

राजकुमारको हिमाल आरोहण अनुभव
‘म बहराइनको नागरिक। पहिलो घर बहराइन हो भने मेरो दोस्रो घर नेपाल भएको छ। वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आउँछु। त्यसपछि नेपालका हिमाल चढ्दै जाने इच्छा छ’, हिमाल आरोहणपछि राजकुमार मोहम्मदले मिङ्मा शेर्पालाई सुनाए।

शेर्पाले नेपालखबरसँग भने, ‘नेपालको विषयमा उनीहरुलाई एकदमै राम्रो अनुभव गरेका छन्। हिमाल आरोहण गर्दा वा काठमाडौंमा बस्दा कुनै समस्या भएन। उनीहरुले नेपालको पर्यटन क्षेत्रको विषयमा नकारात्मक कुरै गरेन।’

नेपालमा हिमाल आरोहण गर्ने टिमलाई बहराइन रोयल गार्डका कमाण्डर तथा बहराइन ओलम्पिक कमिटीका अध्यक्ष नासिर विन हमाद अल खलिफाले नेपाल पठाएका थिए।

‘नेपाल आएको राजकुमारलाई यहाँको आतिथ्यता र हिमाल आरोहणको अनुभव साह्रै मन पर्यो’, शेर्पाले भने, ‘सगरमाथा आरोहणका लागि नासिर विन हमाद अल खलिफा नै नेपाल आउने योजना बनाएका छन्।’

दभजबचबष्ल उचष्लअभ जष्mब िछ
राजकुमार मोहम्मदले शेर्पासँग अब आफूमात्रै होइन, बहराइनी नागरिकलाई पनि नेपाल जानको लागि प्रोत्साहन गर्ने बताएका छन्।

बहराइन राजपरिवारका सदस्य भए पनि खानामा कुनै समस्या भएन। उनीहरुले सामान्यतया चिकेन बिर्यानी, रोटी, तरकारी नै खाने गरेको शेर्पाले बताए।

नेपालमा हिमाल आरोहणको नियमन पर्यटन विभागले गर्दै आएको छ। विभागकी निर्देशक तथा आरोहण शाखा प्रमुख मिरा आचार्यले राजकुमारसँग नेपालको अनुभव सोधेकी थिइन्।

‘हिमाल आरोहण गरेपछि राजकुमार पर्यटन विभागमा आउनुभएको थियो। उहाँ बहराइनको प्रशासनिक प्रणालीमै काम गरेको हुनाले बहराइनको सिस्टम र नेपालको सिस्टम, सर्भिस प्रोभाइडरको विषयमा मैले प्रश्न गरेको थिएँ’, आचार्यले भनिन्, ‘उहाँले नेपालमा सिस्टम र हिमाल आरोहणबाट हामी सन्तुष्ट छौँ। आगामी दिनमा नेपाल आउनको लागि ठूलो योजना बनाउँदै छौँ भन्नुभयो।’

आचार्यका अनुसार नेपाल रहँदाको बखत राजकुमारले आफूहरुलाई कुनै समस्या नभएको बताएका थिए।

‘राजकुमारको टोलीले हामीसँग आरोहण गर्दा कुनै दुःख झेल्नुपरेको गुनासो गरेको भए नेपालको एजेन्सी र सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने थियौँ। उहाँहरु सन्तुष्ट नै हुनुभएको पाएँ’, आचार्यले भनिन्। –नेपाल खबरबाट साभारित

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्