भारतबाट उद्धार गरी २४ बालबालिका नेपाल ल्याइयो

भैरहवा, कार्तिक ४

रोजगारीका लागि भन्दै भारत पु¥याइएका २४ जना बालबालिकालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ।

दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको सहयोगमा ती बालबालिकाको उद्धार गरी मंगलबार रुपन्देहीको बेलहिया नाकाबाट नेपाल ल्याइएको हो।

उद्धार गरिएकामध्ये १९ जना बालकलाई असोज ११ गते नवलपरासीको ठूटीबारी नाकाबाट ४ जना नेपाली एजेन्टहरुले रोजगारीका लागि भन्दै दिल्ली लैजाने क्रममा भारत उत्तर प्रदेशको गाजियावादबाट उद्धार गरिएको थियो ।

यस्तै, ४ जना बालिकालाई करिब तीन महिना अघि कानपुर र हरियाणाबाट आफन्त नेपाल संस्थाले उद्धार गरेर आश्रममा राखेको थियो। अर्का एक जना बालकलाई ५ महिना अघि उद्धार गरी गाजियाबादको आश्रममा राखिएको थियो।

‘हामीलाई एक महिना अघि नेपालबाट केही बालकहरु दिल्लीतर्फ ल्याइँदै छ भन्ने सूचना आयो, हामीले भारतीय प्रहरीको सहयोगमा पिछा गरी गाजियावादबाट १९ जना बालकलाई उद्धार गरेका हौं’, दिल्लीमा रहेको नेपाली दूताबासको काउन्सुलरसमेत रहेका नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भने।

बालकहरुलाई उद्धार गरी बालकल्याण समिति गाजियावादको सहयोगमा श्रम बाल ट्रष्टमा राखिएको थियो। एक महिना उक्त ट्रष्टमा राखेर आज नेपाल ल्याइएको हो।

नेपाल, भारत दुवै देशको कानूनले बालश्रम गर्न रोक लगाएको छ। तर आफन्तले नै बालबालिकाहरुलाई भारततर्फ रोजगारीका लागि भन्दै लग्दै आएका छन्।

‘१९ जना बालकहरुलाई एउटै बसमा लैजाँदै गर्दा हामीले उद्धार गरेका हौं, बालकहरु लैजाने चार जना नेपाली नागरिक (पुरुष) लाई भारतीय प्रहरीको सहयोगमा पक्राउ समेत गरेका छौं। उनीहरुकाबारे अहिले गाजियावादमा रहेको भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ’, एसएसपी अधिकारीले भने।

अधिकारीले बालबालिकालाई रोजगारी दिने भनेर भारत लगिने गरे पनि पछिल्लो समय उनीहरुका अंगहरु झिक्ने क्रमसमेत बढेको बताए।
उद्धार गरिएका बालबालिकाहरु महिला तथा बालबालिका मन्त्रालयका प्रतिनिधिहरुलाई जिम्मा लगाइएको छ।

मन्त्रालयको मानव बेचविखन शाखाकी प्रमुख सहसचिव गोमादेवी ढकालले केही बालबालिकाको बेलहिया नाकाबाटै आफन्तको जिम्मा लगाइएको र केहीलाई रुपन्देही प्रहरीमार्फत र बाँकीलाई नवलपुर प्रहरी कार्यालयमा लगेर आफन्तको जिम्मा लगाइने बताइन्।

‘हामीले आफन्तलाई सम्पर्क गरेका छौं, सबै बालबालिकाका आफन्त सम्पर्कमा हुनुहुन्छ। सकेसम्म आजै सबै बालबालिकालाई आफन्तको जिम्मा लगाउँछौं, यदि सकिएन भने भोलिसम्म सबै आफन्तको जिम्मा लगाई सक्छौं’, उनले भनिन्।

ढकालले सबै बालबालिकाहरु आफन्तबाटै रोजगारीका लागि भन्दै भारत पु¥याइएको आफूहरुले जानकारी पाएको बताइन्।

‘यस विषयमा हामीले बालबालिका र उनीहरुका परिवारबाट थप कुरा जानकारी लिन्छौ’, उनले भनिन्, ‘चार जना पक्राउ परेकाहरुको भारतीय प्रहरीले पनि अनुसन्धान गर्दैछ। त्यसपछि थप कुरा खुल्छ।’

उद्धार गरिएकामध्ये १८ जना बालकहरु नवलपुर जिल्लाका हुन्। यस्तै १ जना दाङ र अर्का बालक सुर्खेतका रहकेका छन्। यस्तै ४ बालिकामध्ये २ जना बाराका हुन् भने १ जना रुपन्देही र अर्की पर्वतकी हुन्। उनीहरुको उमेर १२ देखि १७ वर्षसम्म रहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्