कोरोना महामारीमा चिनियाँ ठूला व्यवसायीले आर्जन गरे थप सम्पत्ति

कार्तिक, ४
चीनको डाइलिन वान्डा ग्रूपका अध्यक्ष वाङ जीनलिन सवैभन्दा धनी व्यक्तिको सूचीमा रहेका छन् । जसको सम्पत्ति २६ विलियन डलर रहेको छ ।
कात्तिक ४, पेचिङ । चीनका अधिक धनाढ्यले सन् २०२० मा १ दशमलव ४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मंगलवार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो ।

ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अर्बपतिहरूको समुहमा थप २५७ जना व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ ।

उक्त अध्ययनले चीनमा हाल ८७८ जना व्यक्ति अतिधनाड्य अर्बपतिको सूचीमा रहेका छन् । सन् २०२० को शुरु अर्थात् फेब्रुअरीमा अमेरिकामा ६२६ जना व्यक्ति अर्बपतिको सूचीमा सूचीकृत हुनुका साथै विश्वका धेरै धनी व्यक्तिहरूको समुहमा अमेरिका नै अग्रस्थानमा रहेको थियो ।

चीनमा यो वर्षको अगस्टसम्ममा २ हजारभन्दा बढी अर्बपति थपिएका छन् । उनीहरूसँग २ अर्ब चिनियाँ युआन अर्थात् ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । समग्रमा उनीहरूले ४ ट्रिलियन अमेरिकी डलर मुनाफा कमाएका थिए ।

प्रसिद्ध चिनियाँ ई–कमर्स सेवा अलिबाबाका संस्थापक ज्याक माले यो वर्ष करीब ४५ प्रतिशत बढी सम्पत्ति आर्जन गरेका प्रक्षेपण गरिएको छ । उक्त अनलाइन व्यापार कम्पनीका मालिक ज्याकले यो वर्षमा अनलाइन व्यापारबाट मात्रै ५८ दशमलव ८ अर्ब सम्पत्ति जोडेको सूचीमा उल्लेख गरिएको छ ।

अनलाइन भिडियो खेलका मालिक पोनी मा तथा विच्याटका मालिक टेन्सेन्टलेले अमेरिकी प्रतिबन्धको चेतावनीका बीच पनि थप ५० प्रतिशत अर्थात् ५७ दशमलव ४ अर्ब अमेरिकी डलर आर्जन गर्दै ज्याक मालाई पछ्याएको सूचीमा उल्लेख गरिएको छ ।

चिनियाँ बोतलको ‘ब्रान्डेड पानी’ नोङ्फुका संस्थापक ६६ वर्षीय झोङ साङसान ५३ दशमलव ७ अर्ब अमेरिकी डलर अर्थोपार्जन गरी चिनियाँ अतिधनाड्य सूचीमा तेस्रो स्थानमा पर्न सफल भएका छन् ।

‘विश्वले यति धेरै सम्पत्ति केवल एक वर्षमा आर्जन गरेको देखेको छैन’, हुरुन रिपोर्टका प्रमुख अनुसन्धानकर्ता रुपर्ट हूगेवर्फले एक विज्ञप्तिमार्फत् उल्लेख गरे । यस वर्षको सूचीले चीन निर्माण र घर जग्गाजस्ता ‘परम्परागत क्षेत्रहरू’बाट नयाँ अर्थतन्त्रतर्फ गइरहेको देखिएको उनले बताए ।

खाद्य सामग्री वितरण सेवा मेतुआनका संस्थापक वाङ सिंग आफ्नो सम्पत्ति चार गुणा बढाएर २५ अर्ब डलरको साथ सूचीमा ५२ औं स्थानबाट १३ औं स्थानमा पुगेका छन् भने अनलाइन शपिंग सञ्जाल जेडी डटकमका संस्थापक रिचार्ड लियुले आफ्नो पैसाको दोब्बर २३ दशमलव ५ अर्ब डलर कमाएका छन् ।

यसरी हेर्दा विश्व महामारीबाट आक्रान्त बनिरहेका समय पनि चिनियाँ ठूला व्यवसायीहरूले आफ्नो व्यवसायबाट व्यक्तिगत समृद्धिको यात्रामा निरन्तर लाभ लिएको देखिन्छ ।

माथि उल्लेखित कम्पनी तथा व्यवसायीबाहेक चीनमा खास गरी कोभिड–१९ विरुद्धको खोप उत्पादनमा काम गरिरहेका औषधि तथा चिकित्सकीय सामग्री उत्पादन कम्पनीहरूले पनि उल्लेख्य लाभ लिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तरराष्ट्रिय मुद्रा कोषले संक्रमण नियन्त्रणमा रहेको देखिएपछि यसवर्ष अर्थव्यवस्था विस्तार हुने एक मात्र प्रमुख मुलुक चीन बन्ने बाटोमा रहेको बताएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्