प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको पद मागेपछि…

सन्जिब बगाले
काठमाडौं, कात्तिक १६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व दाबी गरेका छन्।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले सरकारको नेतृत्व दाबी गरेको प्रधानमन्त्री निकट स्रोतले बतायो।

दुई अध्यक्षबीच शनिबार भेट भएको थियो। १२ दिनपछि भएको भेट समेत सकारात्मक हुन नसकेको प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले सेतोपाटीलाई बताए।

’दुई अध्यक्षबीच हिजो कुरा भएको थियो। तर खासै अर्थपूर्ण भएन। उहाँहरू परपर पुगिरहनुभएको छ। दुई जनाको कुरा मिलिरहेको छैन,’ती स्थायी कमिटी सदस्यले भने,’अहिले जति पनि कारणहरू देखाइएको छ, ती सबै सतही हुन्। उहाँले मन्त्रिपरिषदकै नेतृत्व दाबी गर्नुभएको छ।’

कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषय सतहमा आएको भए पनि मुख्य कुरा मन्त्रिपरिषद्को नेतृत्व नै रहेको ती स्थायी कमिटी सदस्यले बताए।

’उहाँको चुरो कुरा मन्त्रिपरिषदको नेतृत्व नै हो। स्थिति अलि परै पुगेको छ। उहाँले जेठ २ को सहमति भनेर त भन्नुभएको छैन। तर खासमा उहाँको चाहना त्यतैतिर हो,’ओली निकटका एक नेताले भने,’प्रधानमन्त्रीले धेरैपटक मन्त्रीहरूको नाम माग्नुभएको छ। तर प्रचण्डले दिनुभएको छैन। नाम दिनेबित्तिकै प्रधानमन्त्रीले मन्त्रिपरिषद् पनुर्गठन गरिहाल्नुहुन्छ।’

प्रचण्डले भने प्रधानमन्त्री दाबी नगरेको प्रचण्ड निकट स्रोतले बताएको छ।

’प्रचण्डले त्यस्तो भन्नुभयो भन्नु सरासर गलत हो। उहाँले त स्थायी कमिटीको निर्णय कार्यान्वयन गरौं भन्नुभएको छ,’प्रचण्ड निकट स्रोतले सेतोपाटीसँग भन्यो,’प्रचण्डले नै पाँच वर्षे स्थायी सरकार होस् भनेर प्रधानमन्त्री छोड्नु भएको हो। यसलाई नबुझिकन अनेक हल्ला फिजाइएको छ।’

२०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा प्रधानमन्त्रीको कार्यकाल समानताको आधारमा बाँडफाँट गर्ने सहमति भएको थियो। त्यसपछि दुबै दलका अध्यक्ष समेतले हस्ताक्षर गरेर सात बुँदे सहमति भएको थियो।

२०७६ मंसिरमा त्यो सहमतिलाई खारेज गर्दै नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीले नै पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।

त्यस्तै कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई दिइएको थियो। तर कार्यकारी भूमिकामा समेत हस्तक्षेप गरेको भन्दै प्रचण्ड असन्तुष्ट बन्दै गएपछि नेकपा फुटको संघारमा समेत पुगेको थियो।

२०७७ भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको थियो भने प्रधानमन्त्री ओलीले ५ वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो। त्यसपछि पनि दुई अध्यक्षबीच असमझदारी बढ्दै गएपछि फेरि पनि पार्टी फुटको संघारमा पुगेको छ।

पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्। यो समाचार सेतोपाटी डट कममा छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्