खुमलटारमा सचिवालय सदस्यसँग प्रचण्डको ब्रिफिङ- प्रधानमन्त्रीले पार्टी अलगअलग गरेर जाऊँ भन्नुभयो

काठमाडौं,कात्तिक १६
प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन्।

वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ’बादल’ खुमलटारमा आज भेला भएका थिए।

९ सदस्यीय सचिवालयमा ६ जना सदस्य एकै ठाउँमा विरलै मात्र भेला हुन्छन्।

प्रचण्डसँगै खनाल, नेपाल र श्रेष्ठ समय समयमा भेला भए पनि गौतम भने बेलाबेला यताउता गरिरहन्छन्।

मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्ट भएसँगै गौतम प्रचण्डसँग नजिकिएका छन्।

गृहमन्त्री थापा भने यस्ता भेलामा कमै जाने गरेका छन्।

यद्यपी थापाको प्रचण्डसँग भेट भइरहने र उनी प्रचण्डसँगै रहेको स्रोतको दावी छ।

खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको खुमलटार भेलामा सहभागी एक नेताले बताए।

’हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएछ। उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो। प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो। अब के गर्ने भनेर प्रचण्डले ब्रिफ गर्नुभयो,’ ती नेताले भने, ’हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ। बैठक बस्नुपर्छ। स्थायी कमिटीको निर्णय मानेर गए भइहाल्छ, महाधिवेशनको तयारीमा जाने हो भन्यौ।’

यता प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व मागेको दावी गरेको छ।

खुमलटार बैठकमा सहभागी ती नेताले भने प्रचण्डले सरकारको नेतृत्व नमागेको बताए।

’हामी स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुनुपर्छ भनिरहेका छौं। तर प्रधानमन्त्रीका निकटस्थहरुले यस्तो हल्ला फैलाएका छन्,’ ती नेताले भने, ’अहिले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने बेला हो। सरकार परिवर्तन गर्ने होइन।’-सेतोपाटी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्