कञ्चनपुरबाट ७ हजार क्वीन्टल धान खरीद गर्दै खाद्य कम्पनी

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कञ्चनपुरबाट ७ हजार क्वीन्टल धान खरीद ;गर्ने भएको छ । यस वर्ष जिल्लाका किसानहरूबाट उक्त परिमाणमा धान खरीद गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कञ्चनपुरका कार्यालय प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले बताए ।

सोमवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरीद समितिको बैठकको निर्णय अनुसार धान खरीद कार्य शुरू गरिएको जानकारी उनले दिए । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरीदका लागि कार्यालयमै बुधवारदेखि डिपो सञ्चालनमा ल्याएको छ ।

समितिले मोटो धान प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँका दरले खरीद गर्ने निर्णय गरेको छ । ‘स्थानीय प्राथमिक खरीद समितिको निर्णय अनुसार धान खरीद कार्य थालेका छौं,’ कार्यालय प्रमुख उपाध्यायले भने, ‘कार्यालयमा कर्मचारी अभाव भएकाले सदरमुकाम बाहिर खरीद डिपो सञ्चालन गर्न सकिने अवस्था छैन ।’

साथै कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कम्पनीले धान खरीदका लागि कुपन सिस्टमको व्यवस्था गरेको छ । धान बेच्न चाहने किसानले कार्यालयबाट कुपन लिएपछि मात्र धान बेच्न पाउनेछन् । त्यस्तै लक्ष्यभन्दा बढी धान विक्रीका लागि आए पनि कम्पनीले खरीद गर्न सक्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ ।

कम्पनीलाई धान बेच्दा किसानलाई फाइदा हुने भएकाले कार्यालयले धान विक्रीका लागि किसानसँग आग्रह गरेको छ । कम्पनीले समयमै धानको समर्थन मूल्य नतोक्दा यहाँका किसानहरू सस्तो मूल्यमा गल्ला व्यापारी (धान खरीद गर्ने व्यापारी)लाई विक्री गर्न बाध्य थिए ।

कम्पनीले यस वर्षका लागि मोटो धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँ निर्धारण गरे पनि किसानले भने १ हजार ९०० देखि २ हजार २०० रुपैयाँसम्ममा गल्ला व्यापारीलाई धान विक्री गर्दै आएका छन् । सरकारले समयमै धानको समर्थन मूल्य समयमै नतोक्दा आपूmले सस्तोमा गल्ला व्यापारीलाई बेचेको भीमदत्त नगरपालिका–२ का किसान पुरन उपाध्यायले बताए ।

असोज पहिलो सातादेखि नै धान पाक्ने भएकाले भण्डारण र आर्थिक अभावका कारण किसानले गल्ला व्यापारीलाई धान बेच्ने गर्दछन् । व्यापारीले किसानको खेतबाटै पनि धान उठाउने गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्