बैतडीमा बलात्कार लुकाउन एक तोला सुनः छ महिनापछि बाहिरियो घटना

१२ मङ्सिर, बैतडी: एक तोला सुनको प्रलोभनमा सामसुम पार्न खोजेको बलात्कार घटना झन्डै ६ महिनामा सार्वजनिक भएको छ। आरोपितले तमसुक गरेअनुसार सुन नदिएपछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको छ।

सिगास गाउँपालिका–३ की एक १८ वर्षीया किशोरीलाई जेठमा स्थानीय दीपकसिंह धामीले बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ। ती किशोरी साँझको समयमा बलात्कृत भएको घटनालाई असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। ‘पीडित पक्षसँगको प्रारिम्भक कुराकानीपछि किशोरीमाथि बलात्कार भएको देखिएको छ’, अधिकारीले भने, ‘उनीहरूलाई सुन दिने प्रलोभनमा घटना लुकाएको पाइएको छ। हामीले यो घटनामा सूक्ष्म रूपले अनुसन्धान अगाडि बढाएका छौं।’

पीडित पक्षलाई कात्तिक मसान्तभित्र सुन दिने सर्त राख्दै तमसुक बनाएको देखिन्छ। तर, त्यसबमोजिम सुन दिनुको सट्टा पीडकले धम्क्याउन थालेपछि बलात्कार घटना प्रहरीमा पुगेको हो। यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘यो घटनामा संलग्न सबैको पहिचान गरी कानुनअनुसार कारबाही हुन्छ’, उनले भने, ‘यसमा प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ।’ उनका अनुसार पीडित पक्षले जेठमा किशोरीमाथि बलात्कार भएको भन्दै ४ जनाको नाममा किटानी जाहेरी दर्ता गराएको छ।

‘पीडित पक्षले चार जनाको नाममा जबर्जस्ती करणी मुद्दामा जाहेरी दर्ता गराएको छ’, उनले भने, ‘सो मुद्दामा हामीले अनुसन्धान सुरु गरिसकेका छौं। बलात्कार गर्ने र यो मुद्दालाई ओझेल पार्नेका नाममा जाहेरी आएको छ।’ अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले कसका नाममा किटानी जाहेरी परेको छ भनेर खुलाएको छैन। यससँगै बैतडीमा कोरोना महामारीका बेला बालिका तथा किशोरी बलात्कारमा परेका ४ घटना प्रहरीमा दर्ता भएका छन्। सरकारले बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्ति पनि कानुनी रूपमा सजायको भागीदार हुने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्दै छ। त्यस्ता व्यक्तिलाई कैद सजाय र जरिवाना सजायको व्यवस्था गरिएको छ। यो समाचार भगीरथ अवस्थीले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्