चिनियाँ रक्षामन्त्री काठमाडौं आउँदै, यस्तो छ कार्यक्रम तालिका

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदैछन् । केही घण्टाका लागि काठमाडौं आउन लागेका उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपयले अर्थपूर्ण ठानेका छन् ।

परराष्ट्र मन्त्रालयले उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेट गर्ने औपचारिक जानकारी गराएको छ । उनको ‘वर्किङ भिजिट’ भएकाले अन्य अनौपचारिक भेट पनि हुने अनुमान छ । तर भेटघाट र कार्यसूचिबारे चिनियाँ पक्षले केही पनि सार्वजनिक गरेको छैन ।

यस्तो छ चिनियाँ रक्षामन्त्रीको औपचारिक कार्यक्रम

चिनियाँ रक्षामन्त्री फेङ्हे चार्टर्ड विमानबाट काठमाडौं आउन लागेका हुन् । उनी बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । विमानस्थलबाट उनी सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने छन् ।

यो पनि पढ्नुहोस
के सन्देश लिएर आउँदैछन् चिनियाँ रक्षामन्त्री ?
त्यहाँ केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।

सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् ।

त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्