सिगासका बासिन्दा बैंकिङ सेवा लिन सदरमुकाम धाउन बाध्य

पुस २, बैतडी । बैतडीको विकट मानिने सिगास गाउँपालिकाका स्थानीयलाई बैंकिङ सेवाका लागि अझै पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकहरूले सेवा दिने सरकारले निर्णय गरेपछि शाखा स्थापना भइरहे पनि सिगासमा भने अझै बैंकिङ सेवा पुग्न सकेको छैन ।

गाउँपालिकाबाट संचालन हुने विकास निर्माणका योजनाका उपभोक्ता समितिले पनि बैंकिङ कारोबार गर्न जिल्ला सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंक नै जानुपर्ने बाध्यता रहेको छ । सिगासका गाउँबाट जिल्ला सदरमुकाम पुग्न दुई दिन लाग्छ । यस्तै गाडी भाडा नै १५ सय लाग्ने गरेको स्थानिय बताउछन् ।

सिगास गाउँपालिकामा दुई वर्ष पहिले कृषि विकास बैंकले शाखा खोले पनि गाउँपालिकाले त्यसमा कारोबार गरेको छैन । कृषि विकास बैंकको शाखामा कारोवार गर्नको लागि प्रबन्धकसँग कुरा गरेको तर शाखाले कारोबार गर्न नस्कने बताएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकासिंह धामीले बताए ।

सिगास गाउँपालिकाका दुई वडा वाहेक अरु सबै वडामा सडकले जोडे पनि बैंकिङ सेवाको सुविधा गाउँपालिकामै दिन नकक्दा त्यहाँका स्थानियले खर्चसँगै दुःख खेप्नु परेको छ । शाखा स्थापनाका लागि प्रमु बैंकले जिम्मा पाएकोमा बिजुली र सुरक्षाको समस्या देखाउँदै अहिलेसम्म स्थापना नगरेको गाउँपालिकाले बताएको छ ।

सिगासवाट नजिक रहेको खोडपे बजारमा ग्लोबल आइएमइ बैंकको शाखा छ । त्यस शाखामा पनि गाउँपालिकाले कारोवार गरेको छैन । चालु वर्षमा लकडाउनले पनि नियमित गाडी चलेका छैनन् । सदरमुकाम दशदेखि पन्ध्र हजार रुपैयाँमा गाडी बुकिङ गरी जानुपर्ने अवस्था आएको सिगास गाउँपालिकाका स्थानीय जस्वीर साउँदले बताए ।
उपभोक्ता समितिको व्यवस्थापन खर्च पनि योजनाबाटै बेहोरिने हुँदा नजिक बैंक भए सो खर्च पनि बचेर विकास निर्माणमै खर्च हुने सिगासका स्थानीय बताउँछन् । आफ्नो शाखामा

अहिलेसम्म ईन्टरनेटको सुविधा नहुनाले गाउँपालिकासँग कारोबार गर्न नसकिएको कृषि विकास बैंक गाजरी शाखाका प्रबन्धक शेरबहादुर साउँदले वताए ।

ससाना योजनाको रकमको चेक साट्न पनि सदरमुकाम नै जानुपर्ने भएकाले आवतजावतमै धेरै रकम खर्च हुने गरेको उपभोक्ता समितिका पदधिकारी बताउँछन् । सिगास गाउँपालिकाको केन्द्रमा अहिलेसम्म पनि बिजुली र सडक पुगेको छैन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्