२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने आफ्नो पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बताएका छन् ।
बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले आजै साँझ ६ बजे डाकिएको क्याबिनेट बैठकबाट संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रचण्डलाई भने,‘एकचोटि राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिउँला ।’
प्रचण्डले भेटेर आपत्ति जनाएपछि प्रधानमन्त्रीले आजै ५ बजे बोलाइएको संवैधानिक परिषदको बैठक भने स्थगन गरेका छन् । अहिले ६ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक डाकिएको छ ।
मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरिसकेपछि राष्ट्रपतिबाट अध्यादेश फिर्ताको औपचारिक निर्णय गर्नुपर्ने हुन्छ ।
तर, प्रधानमन्त्रीले अहिलेसम्म अध्यादेश फिर्ता लिन आनाकानी गरिररहेको प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुको आशंका छ । आजको क्याबिनेटले अध्यादेश फिर्ता नलिएमा यो ५ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक आपतकालीनरुपमा तत्काल बस्न सक्ने एक नेताले बताए ।
यसैबीच, बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर फर्केपछि खुमलटारमा आफू निकटका नेताहरुसँग प्रधानमन्त्रीसँग भएको कुराकानी ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीले अहिले पनि अध्यादेश फिर्ता लिन अन्कनाइरहेको प्रचण्डले आफू निकटका नेताहरुलाई बताएका छन् ।
तथापि बुधबार ओली र प्रचण्डवीच मिलाप गराउन भूमिका खेलेका घनश्याम भुसाललगायतका स्थायी कमिटीका नेताहरुले भने आजको क्याबिनेटले अध्यादेश फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।