कञ्चनपुरमा शिक्षकलाई कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरु धमाधम बन्द गरिदैँ

पुस ३, भवानी भट्ट

कञ्‍चनपुर — कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । बुधबार शिक्षकदेखि जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बिहीबार रातिदेखि एक साताका लागि लकडाउन गरिएको हो ।

नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीका अनुसार बुधबार दुई वडाध्यक्ष, एक शिक्षक, दुई स्वास्थ्यकर्मी र दुई सर्वसाधारणमा संक्रमण देखिएको हो । ‘आज रातिदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका छन्,’ उनले भने, ‘नगर क्षेत्रका सबै विद्यालय पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् ।’ दोधारा–चाँदनीमा हालसम्म ८३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमितको संख्या आठ जना छ । दोधारा–चाँदनी नगरपालिकामा मंसिर २८ देखि विद्यालय सुचारु भएका थिए । बुधबार शिक्षक र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको प्रवक्ता सिंजालीले बताए ।

भीमदत्त नगरपालिकामा पनि बुधबार दुई शिक्षकसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिका–७ को एक माध्यमिक विद्यालयका शिक्षकमा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । ‘अर्को एक विद्यालय पनि बन्द गर्ने तयारी छ,’ वडा नं. ७ का अध्यक्ष शंकर कुँवरले भने, ‘सुरुमा एक शिक्षकमा संक्रमण देखिएको थियो, कन्ट्याक्ट ट्रेसिङ गर्दा अर्का शिक्षकमा पनि संक्रमण पुष्टि भएको हो ।’

उनका अनुसार शिक्षकमा संक्रमण देखिएपछि समुदायमा समेत त्रास सिर्जना भएको छ । भीमदत्त नगरपालिकामा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । हालसम्म ३ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । अहिले पनि ३९ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताए । ‘अहिले जताततै संक्रमित छन्, परीक्षण कम भएर मात्रै कम देखिएको हो,’ उनले भने, ‘हामीले अलि बढी परीक्षण गर्दा संक्रमण बढी देखिएको हो ।’

कोरोना संक्रमण समुदायमा बढ्दै गएको भन्दै शुक्लाफाँटा नरगपालिकाको वडा नं. ५ सिल गरिएको छ । दुई साताअघि एक जनाको कोरोनाका कारण मृत्यु भएपश्चात् कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ६ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । ‘समुदायमा संक्रमण बढ्दै गएको छ, त्यही भएर वडा कार्यालयले नै सिल गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘विद्यालयहरू पनि १० दिनका लागि बन्द गरेका छौं ।’

समुदायमा संक्रमण बढ्न थालेपछि स्थानीय पनि त्रसित भएका छन् । संक्रमितसँग सम्पर्कमा आएका र परीक्षणका लागि स्वाब दिएकाहरूसमेत निर्बाध रूपमा घुमिरहेका कारण स्थानीय बढी डराएका छन् ।

‘घरमा संक्रमित मान्छे छन्, त्यही घरका बालबालिकादेखि सबै स्कुलदेखि बजारमा समेत डुलिरहेका छन्,’ महेन्द्रनगरका स्थानीय बिसनदेव जोशीले भने, ‘न कन्ट्याक्ट ट्रेसिङ छ न त क्वारेन्टाइनमा बसेका छन्, यसले समेत समुदायमा संक्रमण बढेको हो ।’

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म १४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ । अहिले पनि जिल्लामा १ सय ७९ जना सक्रिय संक्रमित छन् । बिहीबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये तीन जना शिक्षक छन् । ‘पछिल्लो समय लक्षणसहितका संक्रमित बढेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन सिद्धराज भट्टले भने, ‘कतिपय लक्षण नभएकालाई परीक्षण गर्दा पनि संक्रमण देखिएको छ ।’ उनका अनुसार पछिल्लो एक सातायताको रिपोर्टका आधारमा संक्रमण समुदायमा समेत बढेकाले सतर्क हुनुपर्ने बताए । – कान्तिपुर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्