प्रचण्डको योजना–प्रतिनिधिसभा पुनस्थापना गरेर ओलीलाई सरकारबाट हटाउने

काठमाडौं । नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्थापना हुने र नयाँ सरकार गठन गर्ने योजना सुनाएका छन् ।

विघटित प्रतिनिधिसभाका आफू पक्षधर सांसदहरुको बैठकमा प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई जति सक्दो चाँडो विदा गरिने बताए ।

प्रचण्ड–माधव पक्षधर संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन भएपछि उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसलाई पुनस्थापना गरेर नयाँ सरकार बन्ने बताए । तर पुनस्थापना कसरी गर्ने भन्नेबारे उनले प्रष्ट पारेनन् । उनले नयाँ सरकारको नेतृत्वबारे पनि बताएनन् ।

प्रचण्डले पार्टी र संसदीय दल दुवैतिर आफ्नो पक्षको बहुमत रहेकोले वैधानिक पार्टी आफ्नै नेतृत्वको रहेको र प्रतिनिधिसभा पुनस्थापनाका लागि अन्य विपक्षी दलहरुसँग पनि छलफल भइरहेको बताए ।

सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई गर्ने आदेश दिए लगत्तै प्रचण्डको यस्तो भनाइ आएको हो । सभामुखले विशेष अधिकार प्रयोग गरेर संसद बैठक बोलाउनेबारे पनि छलफल भइरहेको उनले बताए ।

बैठकमा प्रचण्डले भने–संसद पुनस्थापनापित गरेर नयाँ सरकार बनाउने दिशामा अब हामी जान्छौं । अरु दलका नेताहरुसँग पनि छलफल गरेर एउटा नयाँ परिस्थिति हामी निर्माण गर्छौं । केपी ओलीलाई चाँडो सरकारबाट पनि निकालिन्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्