देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय


काठमाडौँ। सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसले त्यसविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ।

प्रदर्शन कहिलेदेखि र कहाँ-कहाँ गर्ने भन्नेबारे भोलि तय हुने पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

“पार्टीले एकातिर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पनि मनाउनु छ, त्यसअगाडि नै प्रदर्शन गर्ने भन्ने छ”, उनले देखापढीसँग भने, “प्रदर्शन कहिले कहाँ भन्ने भोलि तय हुन्छ।”

बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने पनि निर्णय गरेको छ।

कोरोना संक्रमित भएर हाल अस्पतालमा उपचाररत कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको स्वास्थ्य लाभको कामना कांग्रेसले गरेको छ।

बैठकमा केन्द्रीय सदस्यहरू डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले धारणा राखेका थिए।

अब, भोलि दिउँसो १ बजे फेरि बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि सरकराले निर्वाचनको घोषणा गरेपछि प्रतिनिधिसभा विघटनबारे पार्टीको आधिकारीक धारणा तय गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकको पहिलो दिन हिजो सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू महेश आचार्य र एनपी साउदले धारणा राख्दै सरकारको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्