ओली पक्षको भेलामा बस्नेतले भने, ‘सूर्य चिन्हमै गोलबद्ध हौं’

सिन्धुली- नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टी आधिकारीक रुपमा फुटेको उद्घोष गर्दै एमाले र सूर्य चिन्हमै गोलबद्ध हुँदै प्रचारमा लाग्न नेता कार्यकर्तालाई आह्वान गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको युवाहरुको भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।

पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले पुष्पकमल दाहाल ’प्रचण्ड’ले आधिकारीक रुपमा पार्टी फुटाई सकेको धारणा राख्दै आगामी निर्वाचनमा ताजा जनादेश लिनका लागि प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा संस्थागत हुन र पार्टी, सिद्धान्तको रक्षा गर्न एमालेनै भएर लाग्न निर्देशन दिएका हुन्। उनले भने, ‘लोकतन्त्रमा राजनीतिक गतिविधि गर्ने नैसर्गिक अधिकार छ। अब एकता भए नेकपा नभए एमालेनै भएर सुर्यचिन्हकै प्रचार गर्दै चुनावी प्रचारमा हिड्नुहोस्।’

संसद भंगपछि ओली पक्षका नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा नेता महेश बस्नेत।

बस्नेतले नेकपा अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै पार्टी कार्यालय र सडक अपराधिक मानसिकता भएकाहरुको हातमा जान नदिन अपिल गर्दै त्यस्ता अराजकताका विरुद्ध साइबर फोर्स (सेना) बनाएर टोलटोलबाट प्रतिकार गर्नसमेत निर्देशन दिए।

बस्नेतले ओलीलाई सिंह प्रचण्डलाई ब्वासोको संज्ञा दिए। उनले भने, ‘ब्वासाहरुको घेराबन्दीबाट पार्टी, राष्ट्र र जनताको भलाईका लागि प्रधानमन्त्रीले संसद विघटन गर्न बाध्य हुनु परेको हो। कमरेड माधव नेपाल र झलनाथ खनाल प्रचण्डभन्दा राजनीतिक इतिहासमा अगाडि हुनुहुन्छ। म अझैं पनि माधव नेपाल र झलनाथ खनाललाई समेत मुलधारमा फर्कन आग्रह गर्दछु।’

केपी ओली सिंहरुपी भएको र ओलीका सेना सडकमा उत्रेका दिन केपी ओलीदेखि धरमराएका, डराएका र अवसर खोजेकाहरु ओली पक्षमै उभिने तर्क गर्दै नेकपा नेता हरिबोल गजुरेललाई समेत आधिकारीक नेकपामा प्रवेश गर्न उनको आग्रह छ।

माओवादीसँग पार्टी एकिकरण गर्नु नै ठुलो भुल भएको उनको भनाई छ। तर, सकारात्मक सोचका साथ भएको कमजोरीलाई क्षमा दिन कार्यकतामाझ उनले आग्रह गर्दै प्रचण्डको हैसियत पार्टीको उपाध्यक्ष हुनेसमेत नभएको दाबी गरे।
‘प्रचण्डलाई ओलीले शरणमा आएकालाई मरण हुन दिन हुन्न भन्ने मनसायले अध्यक्ष बनाउनु भएको थियो। तर, प्रचण्डले नबुझेर भारत र चिनको एम्बेसीको इसारामा कुन्ठा र विग्रहको विउरोपेर प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव र राष्ट्रपति महाअभियोग लगाउने खेल खेल्नुभयो। त्यसले आधिकारीकरुपमा पार्टी एकता भंग भएको हो,’ उनले थपे।

नेकपा सिन्धुली पार्टी कार्यालय कब्जा
उता नेकपा नेता बस्नेत पार्टी कार्यालयमा पुगेलगत्तै नेकपा सिन्धुली पार्टी कार्यालय तथा आजाद स्मृती भवन आफुहरुले कब्जामा लिएको भन्दै अनेरास्ववियू र राष्ट्रिय युवा संघका प्रतिनीधिले तालाबन्दी गरेका छन्। उनीहरुले नेकपाको आधिकारिक नेतृत्व ओली समूहमै रहेको भन्दै प्रचण्ड (नेपाल पक्षलाई पार्टी कार्यालयमा प्रवेश निषेध गर्ने जनाउँदै पार्टी कार्यालय कब्जामा लिएको अनेरास्ववियूका केन्द्रीय सदस्य लालबहादुर बुढाथोकीले जनाए। कार्यक्रममा ओली पक्षका नेता तथा कार्यकर्ताको मात्र सहभागिता रहेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्