लुम्बिनी प्रदेशसभामा ओली पक्ष बलियो, वामदेव र बादल निर्णायक

रुपन्देही । विभाजित नेकपाको लुम्बिनी प्रदेशसभा सदस्यको गणितमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली पक्ष बलियो देखिएको छ ।

प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने ६१ सांसदमध्ये ३५ जना ओली पक्षमा छन् भने २६ सांसद प्रचण्ड–माधव नेपाल पक्षका छन् । लुम्बिनी प्रदेशसभामा कुन ८७ सांसद छन् ।

यो प्रदेशमा तत्कालीन एमालेबाट ४१ र माओवादीबाट २० सांसदले प्रदेशसभा चुनाव जितेका थिए । लुम्बिनी प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन् ।

नेकपा विभाजित हुँदा प्रदेशसभाको सत्ता समीकरणबारे पनि बहस शुरु भएको छ । पार्टी विभाजन हुँदा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्ने सम्भावना पनि उत्तिकै छ । सरकारलाई बहुमत पुग्न ४४ सांसद आवश्यक पर्छ । पूर्वमाओवादीले मात्रै साथ छोड्दा पनि लुम्बिनी प्रदेश सरकार अल्पमतमा पर्न सक्छ ।

नेपाल पक्षका सांसद विष्णु पन्थीले मुख्यमन्त्री पोखरेल अल्पमतमा पर्ने भएपछि आफ्नो खेमाका चार सांसदलाई मंगलबार ओली पक्षले केन्द्रीय सदस्यमा मनोनीत गरेको बताए ।

प्रदेशसभामा तत्कालीन एमालेले जितेको ४१ सिटमा ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए । तर अहिले केही फेरबदल भएको छ ।

वामदेव र बादल पक्ष निर्णायक

त्यस्तै, तत्कालीन माओवादीले २० सिट जितेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलनिकटका तीन सांसद अहिलेसम्म कतै खुलेका छैनन् । बादल जता लागे उनीहरू पनि उतै लाग्ने अनुमान गरिएको छ । त्यसैगरी उपाध्यक्ष वामदेव गौतमनिकट मानिने कृषिमन्त्री आरती पौडेल पनि नखुलेका कारण उनीहरुको मत निर्णायक हुनेछ ।

मुख्यमन्त्री पोखरेललाई बहुमत जुटाउन नौ सांसद आवश्यक पर्छ । यस्तो अवस्थामा उनले कांग्रेसको साथ लिनुपर्ने हुन्छ । बादल र वामदेवले ओलीलाई साथ दिएको खण्डमा प्रदेशसभामा रहेका उनका ४ सांसद पनि मुख्यमन्त्री पोखरेलको पक्षमा खुल्ने विश्वास यो खेमाले गरेको छ ।

जसपा र जनमोर्चाका सांसदलाई साथ लिएर पनि पोखरेलले सरकारको नेतृत्व गर्न सक्नेछन् । त्यस्तै, प्रचण्ड–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न कांग्रेसको समर्थन आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ ।

प्रधानमन्त्री ओली पक्षका सांसद भूमिश्वर ढकाल भने आफूहरुको पक्षमै बहुमत सांसद रहने र सरकार नढल्ने दाबी गर्छन् ।

शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने भएमा प्रचण्ड–माधव पक्ष, कांग्रेस र जनता समाजवादी मिलेर सरकार बनाउनसक्ने सम्भावना रहने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान बताउँछन् । नेकपाभित्रको भावी कदमलाई हेरेर कांग्रेसले रणनीति बनाउने खानले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्