फलामको मूल्य ६० प्रतिशत बढ्यो, ग्रील उद्योग बन्द हुने अवस्थामा

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् ।

व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्यधिक अनियन्त्रित र अस्वाभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले मारमा परेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए ।

ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए । यसबाट देशभरि सञ्चालित ११ हजार भन्दा बढी ग्रील उध्योग बन्द हुने जोखिममा रहेको पनि उनले भने । यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवाल बताउँछन् ।

बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराए । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका छन् । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रीलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्