कञ्चनपुरमा प्रचण्ड–नेपाल पक्षको विस्तारित भेला रोकियो, पार्टी कार्यालयको ताला खुल्यो

महेन्द्रनगर ।
कञ्चनपुरमा ओली पक्षिय नेकपाको अवरोधका कारण प्रचण्ड–नेपाल पक्षको भेला अवरुद्ध भएको छ । नेकपा (प्रचण्ड–नेपाल) पक्षले आइतवार दिउँसो विस्तारित जिल्ला भेलाको कार्यक्रम राखेको थियो । तर नेकपा (ओली) पक्षले भेला हुन दिएन ।

असहज परिस्थिति सृजना भएकाले आइतवार तय भएको भेला हुन नसकेको नेकपा कञ्चनपुरका सचिव तारालामा तामाङले बताए । नेकपा दुई धारमा विभाजन भएको अवस्थामा विस्तारित भेलाका नाममा गुटगत भेला गर्न खोजिएको भन्दै ओली पक्ष नेकपाले आइतवार पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

प्रचण्ड–नेपाल समुहले गुटगत भेला गरेर पार्टी कार्यालय कब्जा गर्न खोजेको भन्दै तालाबन्दी गरिएको ओली समुहका एक नेताले बताए । नेकपा कञ्चनपुरका सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङले शनिवार सामाजिक सञ्जालमा लेख्दै महेन्द्रनगरस्थित पार्टी कार्यालयमा भेला आयोजना हुने भएकाले कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका थिए ।

त्यस लगत्तै नेकपा कञ्चनपुरका अध्यक्ष विर बहादुर थापा (पातल) ले त्यो सूचनालाई खण्डनन गर्दै पार्टी दुई धारमा विभाजित भएको र निर्वाचन आयोगले कसैलाई आधिकारिकता नदिएको अवस्थामा पार्टीको कुनै कार्यक्रम आयोजना नगरिएको उल्लेख गरेका थिए । कञ्चनपुरमा जिल्ला अध्यक्ष विरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन् ।

नेता भीम रावलको उपस्थितिमा पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षको भेला रोक्न ओली पक्षले तालाबन्दी गरे पछि दुवै पक्षका कार्यकर्ताबिच झडप समेत भएको थियो ।

उता नेकपा कञ्चनपुरका सचिव लामाले कुनै गुटको भेला नबोलाएको दाबी गरेका छन् । निर्वाचन आयोगको आधिकारिकता नआउँदासम्म पार्टी कार्यालयमा कुनै बैठक नगर्ने सहमति पछि पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला खोलिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्