चिनियाँ विशेष टोलीले दाहाललाई भन्यो: ओलीसँग मिलेर अघि बढ्नुहोस्

दाहालले जवाफ दिए: ओली सच्चिए, मिल्न तयार छौं
काठमाडौँ — नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान सल्लाह दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो । उक्त टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा (ओली पक्ष) का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् ।

दाहाल निकट एक नेताले कान्तिपुरलाई दिएको जानकारी अनुसार चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेका हुन् ।

जवाफमा दाहालले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार भएको बताएका हुन् । त्यसको मतलब दाहालले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान चिनियाँ टोली समक्ष राखेका हुन् ।

करिब साढे ९ बजे खुमलटार पुगेको चिनियाँ टोलीले दाहालसँग करिब ४५ मिनेट वार्ता गरेको थियो । त्यसपछि चिनियाँ टोलीले अर्का अध्यक्ष (दाहाल–नेपाल समूह) माधवकुमार नेपालसँग वानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेका हुन् । नेपाल निकट एक नेताका अनुसार चिनियाँ टोली टोलीका सदस्यहरुले नेकपाको एकतालाई कायमै राख्नको लागि सुझाव दिएका थिए । जवाफमा नेता नेपालले पहिला ओली सच्चिनु पर्ने धारणा राखेका थिए ।

त्यसपछि चिनियाँ टोली पूर्व प्रधानमन्त्री तथा अर्का नेकपा (दाहाल–नेपाल समूह) का नेता डल्लुमा झलनाथ खनाललाई भेट्न डल्लु पुगेको थियो । टोलीले खनाललाई पनि एकतालाई कायमै राख्नको लागि आग्रह गरेको खनाल निकट एक नेताले जानकारी दिए ।

खनाललाई भेटेर चिनियाँ टोली सभामुख अग्नी सापकोटालाई भेट्नको लागि हिडेको छ । चिनियाँ टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

उक्त टोलीले आइतबार काठमाडौंमा आउने वित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटिसकेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्