‘कानूनी तिकडम र अपवित्र गठबन्धन होइन, ताजा जनादेशमा जाऔं’–कमल थापा

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको संवैधानिकता परीक्षण अदालतले गर्ने भन्दै सरकार र सडक कतैबाट पनि अदालतलाई दबाब वा प्रभावमा पार्ने काम नहोस् भनेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जनताको म्याण्डेटलाई नेकपाले धोखा दिएका कारण ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवैधानिक मायन्ता हो भनेका छन् । अब प्रतिनिधिसभा पुनर्स्थापना गरेर गठबन्धन सरकारमा जाने खेलमा कांग्रेस नलागोस् भन्ने चेतावनी समेत थापाले दिएका छन् ।

थापाले भनेका छन्– ‘एक पार्टीले स्पष्ट बहुमत पाएको अवस्थामा पार्टी फुटाएर,सांसद किनबेच गरेर,अपववित्र गठबन्धन बनाएर सरकार बनाउने कार्य संविधानको आशय होइन । लोकतान्त्रिक मान्यता पनि होइन । आ(आफ्नो स्वार्थ अनुकुल संविधानको व्याख्या गर्नु खतरनाक हुन्छ ।’

थापाले कानुनी रुपमा नेकपा अझै नफुटेको भन्दै ताजा जनादेश प्राप्त नगरी कांग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुने टिप्पणी गरेका छन् ।

थापाले भनेका छन्–केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ । संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ । कानुनी तिकडम र अपवित्र गठबन्धनले होइन ।

थापाले राप्रपाले संविधानलाई आलोचनात्मक समर्थन गरेको र अहिले संविधानका संवाहकहरु नै संविधानको हत्याको बाटोमा लागेको बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भए संविवधानको हत्या हुने उनको आशय व्यक्त भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्