ओली जहाँ, नेकपा र सूर्य त्यहीँ: उपप्रधानमन्त्री पोखरेल

सिन्धुली — उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र सूर्य चिह्न प्रधानमन्त्री केपी ओलीकै पक्षमा हुने ठोकुवा गरेका छन् । कानुनी रूपमा नेकपा विभाजन भइनसकेकाले प्रथम अध्यक्ष जहाँ हो, नेकपा र सूर्य त्यहीँ रहने उनले दाबी गरे ।

धनुषा, सिरहा हुँदै सिन्धुली आइपुगेका उपप्रधानमन्त्री पोखरेलले बुधबार रातमाटामा आयोजित अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरे । प्रधानमन्त्रीले ताजा जनादेश लिन निर्वाचन मिति घोषणा गरी सुरक्षा निकाय र निर्वाचन आयोगसँगसमेत छलफल गरिसकेको उनले बताए ।

‘निर्वाचन हुन्छ, सबै लागौं, मतभेदका जे–जे कुरा छन्, त्यो सबै निर्वाचनको परिणामले मिलाउँछ,’ पोखरेलले भने, ‘निर्वाचनबाट भाग्ने कुरै छैन ।’ ताजा जनादेशका लागि प्रधानमन्त्रीले सर्वोच्चलाई जवाफ दिइसकेकाले अदालत ‘दायाँबायाँ’ नहुने पनि उनले बताए ।

नेकपा विभाजनमा कात्तिक २८ गतेको पुष्पकमल दाहालको आरोपपत्र नै मुख्य कारण भएको पोखरेलको भनाइ छ । पार्टी एकता टुट्दा सबैभन्दा घाटा दाहाललाई नै हुने भन्दै आफूले उनीसँग कुरा गरेको पनि पोखरेलले बताए । ‘पछिल्लो पटक प्रचण्डसँग भेट्दा तपाईंहरूले संकट सिर्जना गर्दै हुनुहुन्छ, यसको सबैभन्दा दुःखद परिणाम तपाईंले भोग्नुपर्छ भन्दा एकदम सही कुरा गर्नुभयो, मनकै कुरा गर्नुभयो, भन्नुहुन्छ । अनि के भन्ने ? म त त्यहीँ थला परेँ नि,’ उनले सुनाए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्