ईश्वर पोखरेलले भने ’प्रचण्ड पार्टी अध्यक्ष होइन, साधारण सदस्यका लागि पनि लायक छैनन्’

काठमाडौँ २३ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पार्टी अध्यक्ष पार्टीको साधारण सदस्यसमेत रहन लायक व्यक्ति नभएको बताएका छन्। बिहीबार सिन्धुपाल्चोकको खाँडीचौरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डको तरंगित भइरहने र अस्थिर प्रवृत्तिका कारण नेकपा अहिलेको अवस्थामा आइपुगेको आरोप लगाए। ’प्रचण्डको तरंगित स्वभावको कारणले पार्टीको अहिलेको अवस्थामा आइपुगेको छ। नेकपाको नवौं अधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक हुन्छ’ उनले भने।

उपप्रधानमन्त्री ईश्वर पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गरे। आफूहरूले बोकेको झण्डा नै पार्टीको आधिकारिक भएकोले कार्यकर्तालाई विचलित नहुन पनि उनले आग्रह गरे। पार्टीको आधिकारिकता प्राप्त गर्नका लागि केही समय कुर्नुपर्ने र त्यसपछि सूर्य चिह्‍न आफूहरूकै हुने उनले बताए।

प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध पेश गरेको अभियोग पत्र फिर्ता लिन तयार भई आगामी निर्वाचनमा एकै पार्टी भएर मिलेर जान प्रचण्ड तयार भएमा पार्टी एक भइरहने बताए। ’१९ पेजको अभियोग पत्र फिर्ता लिन र आगामी निर्वाचनमा सँगै जान प्रचण्ड तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने महत्वपुर्ण कुरा हो’ उनले भने।


पार्टीको विस्तारित केन्द्रीय समितिले नै महाधिवेशन र आगामी निर्वाचनको तयारी गर्ने उनले बताए। कार्यक्रममा सहभागी युवा तथा खेलकुद मन्त्री दावा लामाले नेकपामा प्रचण्ड(माधव समूहले अरूको भविष्यवाणी गर्न छाडिदिए हुने बताए। मन्त्री बनेपछि पहिलोपटक आफ्नो गृहजिल्ला आएका लामाले उनीहरूको समूह अब छिट्टै सुनकोशो नदीमा बग्दै दुम्जाको बेसी हुँदै नेपालको सिमाना कटेर बंगालको खाडीमा गएर विलीन हुने बताए।

उनले सिन्धुपाल्चोकमा कम्युनिष्ट आन्दोलन चलिरहँदा शिक्षण पेशामा जागिर खाएर बसेका अहिलेका संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको सिन्धुपाल्चोकको राजनीतिक परिवर्तनमा कुनै हिस्सा नभएको बताए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्