‘मैले त उहिल्यै भनेको थिएँ, मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ’- माधव नेपाल

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले आफूले केपी ओली प्रवृत्तिले कुनै दिन संकटमा पार्ने ठानेर संसद्मा ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ’ भनेर बोलेको बताएका छन्।

त्यो समय ओलीको सरकार सञ्चालन गर्ने तौरतरिकाले आफूलाई त्यस्तो महशुस गराएको स्मरण बिहीबार नागरिक समाजसँग गरिएको अन्तरक्रियाका क्रममा बताएका हुन्।

माधव नेपाल

उनले भने, ‘उहाँको सरकार सञ्चालनको तौरतरिका देखेर मैले संसद्मा भनेको थिएँ, मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि कोही यो देश बचाइदऊ। यो भनेबापत ओलीले खेदेको खेद्यै गर्नुभयो।’

आफू त्यही बेलादेखि ओली प्रवृत्तिबाट आजित भएपनि बेदना सुनाउने र देखाउने ठाउँ नभएको भन्दै उक्त कार्यक्रममा आफ्ना वेदना उनले पोखे। उनले भने, ‘भित्र पनि समस्या थियो। बाहिर भन्न पनि नहुने पार्टीका कुरा। वेदना कहाँ सुनाउने? तर, आज समयले तपाईं र मेरो ती वेदना साझा भएका छन्। बाँडिरहेका छौं।’

प्रधानमन्त्री ओलीसँग भन्दा पनि उनको प्रवृत्तिसँग आफ्नो लडाइँ भएको उनले बताए। ओलीको ‘बा प्रवृत्ति’विरुद्ध आफूहरु संघर्ष गरिरहेको उनले स्मरण गराए। उनले भने, ‘त्यो प्रवृत्तिले कोही र कहीँ बाँकी राख्दैन। ‘बा’ संस्कृतिका पक्षपोषकहरुका कारण लोकतन्त्र नै खतरामा छ। हामी लोकतान्त्रिक हौं। सबैको मानसम्मान र मर्यादा राखौं। सबैको कुरा सुन्ने बानी बसालौं। सही भए स्वीकारौं भन्छौं।’

आफूहरु कम्युनिस्ट भएपनि ‘उग्रवामपन्थी’ नरहेको उनले अवगत गराए। भने, ‘कुनै समय हामीमा उग्रवामपन्थता थियो। त्यो उहिल्यै बागमतीमा बगाइसक्यौं । बगेर गइसकेको छ।’

त्यस्तो प्रवृत्ति भएका व्यक्ति भने सबै पार्टीमा भेटिने उनी बताउँछन्। त्यसैले त्यो प्रवृत्तिविरुद्ध एक्ला–एक्लै नभई साझा मोर्चा बनाउनुपर्नेमा उनले जोड दिए। भने, ‘अब हामी साझा झन्डामा जानुपर्छ। साझा सरोकारको विषय भएकाले सबैको मोर्चाबन्दी हुनुपर्छ। संघीयताका, लोकतन्त्रका, संविधानका हिमायती एक ठाउँ हुनुपर्छ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्