उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् ।
सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् ।
न्यूक्लियर सबमरिन बनाउने योजना लगभग पूर्णता पाउने अवस्थामा पुगेको उनले बताए ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने बेला हुँदै गर्दा नेता किमको टिप्पणी आएको हो ।
आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बताएका छन् ।
बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् ।
नेता किम र बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच निकट सम्बन्ध थियो । दुईजनाबिच औपचारिक रुपमा वार्ता समेत भएको थियो । तर परमाणु हतियार नियन्त्रणमा सो वार्ता सफल भने हुन सकेन ।
वर्कर्स पार्टीको आठौँ कंग्रेसलाई नेता किमले सम्बोधन गर्दै शत्रु शक्तिले आफूविरुद्ध आक्रमण नगरेसम्म परमाणु हतियारको प्रयोग नगर्ने बताएका छन् ।