प्रधानमन्त्रीको गृह जिल्लामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

पुस २६, झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरीद गरेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रू. २० लाखका दरले जग्गा खरीद गरिएको कम्पनीका अध्यक्ष एवम् निवर्तमान संघीय सांसद लालबहादुर सावाले बताए ।

आयोजनाको कुल लागत रू. ७९ करोड रहेकोमा रू. ६० करोड बैंक कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए । कम्पनीले रू. एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत् उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताए ।

उनका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिए । यहाँबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई प्रतियुनिट रू. ७ दशमलव ३० का दरले विक्री गर्ने कम्पनीको योजना छ ।

यसले वर्षमा एक करोड ७६ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ । कम्पनीले यही वर्षको माघ मसान्तसम्ममा विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पिपीए) गरिसक्ने र चैतको पहिलो सातातिर परियोजनाको इपिसी ठेक्का दिने जानकारी दिएको छ ।

झापामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको र विदेशमा यसको ठूला परियोजना सफलतापूर्वक सञ्चालन भइरहेको देखेपछि झापा इनर्जी कम्पनी स्थापना गरिएको सञ्चालक एवम् सहकारी अभियानकर्मी रामचन्द्र उप्रेतीले बताए । कम्पनीले शनिवार दोस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै २०७८ मंसिर मसान्तमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्