धनगढी लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको तयारी तीव्र

कैलाली । आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग ९एलपिएल० को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ ।

धनगढीमा हुने लिटल फ्लावर प्रिमियर लिगको पाँचौँ संस्करणमा चण्डिका ग्रुपस‌ग मुख्य प्रायोजकका रूपमा सम्झौता गरिएपछि प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका ग्रुप लिटिल फ्लावर प्रिमियर लिग हुने भएको हो।

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सले प्रतियोगिताको मुख्य प्रायोजन सम्झौता गरेको जानकारी दिएको हो । आयोजकका तर्फबाट इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र चण्डिका ग्रुपका तर्फबाट निर्देशक श्याम कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइको खेल मैदानमा हुनेछ । प्रतियोगितामा विद्यालयस्तरका १९ वर्षमुनिका खेलाडीले सहभागिता जनाउनेछन् ।

देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । विगतमा चार जनासम्म नेपालभित्रका १९ वर्षमुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्षमुनिका दुई मात्रै खेलाडी सहभागी गराउने तयारी आयोजकले गरेको छ ।

विगतका वर्षभन्दा पुरस्कार राशि पनि यो वर्ष घटाइएको छ । चौथो संस्करणको विजेताले रु दुई लाख र उपविजेताले एक लाख पाएकामा यसपालि विजेतालाई रु एक लाख र उपविजेतालाई रु ५० हजार दिइनेछ ।

बदलिंदो समयसँगै क्रिकेट खेल युवामा मात्र नभई, बयस्क र केटाकेटीका लागि पनि लोकप्रिय खेल बन्न थालेको छ । सुदूरपश्चिममा एक दिवसीय र २०÷२० क्रिकेट खेल हुन थालेका छन् ।

क्रिकेटप्रति बढेको आकर्षणले कैलालीमा क्लब र विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने क्रम पनि बढ्न थालेको शिक्षक पूर्ण विकले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले युवाको क्रिकेटप्रति बढ्दै गएको रुचिलाई सम्बोधन गर्न फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रूपमा विकास गरिरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्