खानेपानीको दुई करोड रुपैयाँ बढी बक्यौता उठ्न बाँकी

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा रु दुई करोड ५६ लाख १८ हजार ३५८ महसुल बक्यौता उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय, विभिन्न सङ्घसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७६ र ७७ को असारसम्मा रु एक करोड ३० लाख ४८ हजार महसुल उठाउन बाँकी थियो । चालु आव २०७७ र ७८ को साँढे पाँच महिनामा रु एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो । पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको बरालले बताए ।

नतिर्नेलाई पटक–पटक पत्राचार गरिराखिएको उहाँले बताए । रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ, जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ ।

बोर्डको कार्यक्षेत्र समग्र महानगर हो । तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नं वडामा खानेपानी सुविधा पुर्याएको छ । वडा नं १७ देखि २१ र २३ देखि २९ सम्मका कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन् ।

बोर्डले सबै ठाउँमा खानेपानी पुर्याउनका लागि काम गरिरहेको बरालले बताए । यो आर्थिक बर्षमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए । हालसम्म बोर्डका ३० हजार ग्राहक छन । अर्थात् ३० हजार धारा जडान गरिएका छन् । अब ग्रामीण भेगहरुमा खानेपानी पुर्याउन बाँकी रहेको बरालको भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्