निर्वाचनका कार्यक्रम रोक्न माग गर्दै आयोगमा पु्गे दाहाल–नेपाल

काठमाडौँ — निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय दाहाल र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुगेका हुन् ।

आयोगका पदाधिकारीसँग निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतलाई निर्वाचन आयोगसँगका गतिविधि हेर्ने जिम्मा दिइएको थियो । अध्यक्षद्वयसँग यी नेताहरू पनि आयोगमा उपस्थित छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरिने पोखरेलले बताए । ‘निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम तय गरेको छ । त्यसैअनुसार जिल्लाहरुमा बैठक सुरु गरेको छ । संसद् विघटनको विषय सर्वोच्च अदालतमा छ । यो निर्णय नभएसम्म निर्वाचन हुने नहुने अनिश्चित छ । त्यसलाई प्रभावित पार्ने गरी निर्वाचन आयोगले काम अगाडि बढाउनु हुँदैन भनेर हामीले हाम्रो सरोकार जाहेर गरेका छौ‌,’ पोखरेलले भने ।

निर्वाचन आयोगले दाहाल-नेपाल र ओली पक्षलाई ७ दिनभित्र अध्यावधिक विवरण पेस गर्न भनेको थियो । साथै आयोगले दुवै पक्षबाट आयोगमा गरिएका पत्राचारमा उल्लेखित निर्णयहरू विधानको व्यवस्थासँग मेल नखाएको भनेको छ ।

आयोगले पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने विधानको व्यवस्थातर्फ ध्यानाकर्षण गराएको छ । विधानको धारा १८ (छ) को ८ मा रहेको पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुने व्यवस्था कार्यान्वयन नभएको आयोगले इंगित गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गरेकी थिइन् । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा चुनाव गर्ने बताएको छ । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्