१४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न सातजना पक्राउ

भद्रपुर- मोटरसाइकल चोरी गरेर धन्दा चलाउने गहिरोका सात जनालाई झापा प्रहरीले पक्राउ गरेको छ। इलाम, पाँचथर र ताप्लेजुङ घर भएका उनीहरूले विर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउँदै आइरहेको खुलेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिले मंगलवार बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा माई नगरपालिका(६ बस्ने मनिष गिरी, सोही ठाउँका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षितिज भनिने रोशन तामाङ र वडा(८ का रोशन बुढाथोकी रहेका छन्।

त्यस्तै पाँचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दीप लिम्बु रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी मुकुन्द रिजालले जानकारी दिए। प्रहरीले उनीहरू साथबाट झापा लगायतका विभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ। प्रहरीले १५० सिसीको २ वटा अपाचे, २२० सिसीको २ वटा पल्सर र बाँकी १५० सिसीको पल्सर मोटरसाइकल बरामद गरेका हो।

मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरूलाई पक्राउ गर्न सफल भएको डिएसपी रिजालले बताए। विर्तामोडमा डेरा गरी बस्दै आएका युवाहरूले मोटरसाइकल चोरीलाई धन्दा नै बनाएको अनुसन्धानबाट खुलेको बताउँदै डिएसपी रिजालले भने, ’हरेक दिन साँझ परेपछि प्रहरीमा मोटरसाइकल हराएको उजुरी पर्न थाल्यो, एकै समयमा धेरै वटा मोटरसाइकल हराएपछि प्रहरीले यस घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धानलाई अघि बढाउँदा सफलता मिल्यो।’

प्रहरीले शनिवार पाँच जनालाई इलामबाट पक्राउ गरी झापा ल्याएको उनले बताए। पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्