ओली पक्षले सूर्य चिह्न खोसेमा देशमा आँधीहुरी, बतास ल्याउने प्रचण्डको चेतवानी

काठमाडौँ पुस २८,विभाजित नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न आफूहरूबाट खोसे नेपालमा आँधीहुरी, बतास आउने बताएका छन् ।

नेकपा गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले नै सूर्य चिह्न पाउने बताए ।

‘सूर्य चिह्न हाम्रै हुन्छ, द्विविधामा बस्नै पर्दैन,’ उनले भने, ‘विधान र निर्वाचन कानूनमा प्रस्ट भनिएको छ, जससँग बहुमत छ, आधिकारिक त्यही हुन्छ, हामीसँग ७०५ छ, मन्त्री पाएपछि जानेका कुरा छाडिदिनुस् ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको बहुमतबाट हटाउने तयारी संसद विघटनअघि नै गरिएको खुलासा समेत गरे । उनले ओली नसच्चिए पार्टीको बहुमतले हटाउने तयारीस्वरूप आफूले पार्टीमा प्रस्ताव पेश गरेको बताए ।
‘मैले पेश गरेको प्रस्तावको स्प्रिट त्यही नै थियो । सचिवालयमा, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत पुगेन भने संविधान मिच्न पाइने व्यवस्था कही छ ?’ प्रचण्डले भने ।

बहुमतको निर्णय पार्टीको निर्णय हुने लेखिएको विधानमा ओलीको पनि हस्ताक्षर गरेको प्रचण्डले बताए । ‘विधानमा यसको एउटा बुँदा मात्रै होइन, छुट्टै शीर्षक नै छ, अहिले दुईतिहाइ बहुमतभन्दा बढी सदस्यको हामीले कमाण्ड गरेका छौं,’ उनले भने ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका पूर्व माओवादी नेताहरूलाई जनयुद्ध कुहिएकै फर्सी हो भनेर प्रश्न गरेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘केपीतिर लागेका हाम्रा साथीहरूलाई सबैले सोध्नुहोला – के जनयुद्ध कुहिएकै फर्सी हो त ?’

तत्कालीन जनयुद्धमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायत नेताहरू ओलीतिर लागेका छन् । ओलीले हालै एक कार्यक्रममा जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको सहमति हुँदा समेत ओलीले जनयुद्धका उपलब्धी स्वीकार्ने विषयमा सहमति गरेको स्मरण गर्दै प्रचण्डले सोधे, ‘के त्यो केपी ओलीले हस्ताक्षर कीर्ते हो ? यदि त्यसो होइन भने यो बेइमानी हो । कोही पनि क्रान्तिकारीलाई यो स्वीकार्य हुँदैन ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्