वाग्मती प्रदेशले काठमाडौमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
आज भएको समूह बीको खेलमा वाग्मतीले नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको हो। पुलिस क्लबले दिएको १ सय १२ रनको झिनो लक्ष्य वाग्मतीले ४ दशमलव ४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। पृथु बास्कोटा र इशान पाण्डेले ७९ रनको साझेदारी गरेपछि बाग्मतीले सहज जित निकालेको हो।

पृथु बास्कोटा ४८ र इशान पाण्डे १७ रनमा नटआउट रहे। ६६ बलको सामना गरेका बास्कोटाले ३ छक्का र ५ चौका हाने। ६६ बलकै सामना गरेका पाण्डेले २ चौका हाने। पारस खड्काले १७ तथा आदिल खानले १२ रन जोडे।
पुलिस क्लवका ललित राजवंशी र दिपेन्द्र सिंह ऐरिले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बाग्मती प्रदेशले टस जितेर फिल्डीङ रोजेपछि ब्याटिङ गरेको नेपाल पुलिस क्लव २९ दशमलव ३ ओभरमा १ सय ११ रन जोड्दा अलआउट भयो।
पुलिस क्लवलाई कम स्कोरमा रोक्न नन्दन यादव र तिलक भण्डारीले घातक बलिङ गरे। ७ दशमलव ३ ओभर बलिङ गरेका भण्डारीले १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट झारे।
यता ९ ओभर बलिङ गरेका यादवले १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट नै झारे। ६ ओभर बलिङ गरेका रामनरेश गिरीले ३० रन खर्चेर २ विकेट आफ्नो नाममा गरे।
यता दिपेन्द्र सिंह ऐरि र आरिफ शेखले जोडेको समान २१ रन नै पुलिसका लागि सर्वाधिक रह्यो। सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे। १० बलको सामना गरेका अमित श्रेष्ठले १ छक्का प्रहार गरे।
पुलिसका सात खेलाडीले दोहोरो अंकको स्कोर छुन नसक्दा ४ खेलाडी भने १ रनमा पवेलियन फर्के। सागर ढकाल १ रनमा नै नटआउट रहे।
वाग्मतीले भोलि सुदुरपश्चिम प्रदेशसँग र पुलिसले आगामी ७ गते सुदूरपश्चिमसँग नै खेल्नेछ।