६ लेन सडकमा जोडिँदै अत्तरिया–धनगढी

वीरेन्द्र भट्ट

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी मोहना पुलदेखि स्थायी राजधानी अत्तरिया (गोदावरी) सम्म ६ लेन सडक निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेशको प्रमुख व्यापारिक सहर धनगढी हो भने ७ पहाडी जिल्लाको प्रवेश मार्ग अत्तरिया ।

१९ वडा रहेको धनगढी उपमहानगरका र १२ वडा रहेको गोदावरी नगरपालिका (अत्तरिया) लाई ६ लेन सडकले जोड्न लागेको हो ।

धनगढीको मोहना पुलदेखि गोदावरीको अत्तरिया चोकसम्म साढे १४ किलोमिटर ६ लेन सडक निर्माणले गति लिएसँगै अत्तरियाबाट घर तथा व्यावसायिक प्रयोजनका भौतिक संरचना दक्षिणतर्फ अर्थात् धनगढी रोडतिर विस्तार क्रम बढेको छ । धनगढी चौराहबाट उत्तरतिर अर्थात् अत्तरिया रोडतिर बढेपछि धनगढी र अत्तरिया बजार जोडिन पुगेको हो ।

धनगढी र अत्तरिया बजारमा केन्द्रित विभिन्न कम्पनीका जीप, कार, अटो, मोटरसाइकललगायत सोरुम अत्तरियाबाट दक्षिण (धनगढी) तिर र धनगढीबाट उत्तरी (अत्तरिया) तिर विस्तार हुन थालेपछि धनगढी र अत्तरिया बजार एकआपसमा जोडिन पुगेको कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारी बताउँछन् ।

यसअघि धनगढीबाट अत्तरिया पुग्न करिब आधा घन्टा लाग्थ्यो भने ६ लेन सडक निर्माणपछि १५ मिनटमै अत्तरियाबाट धनगढी पुग्न सकिनेछ ।

गोदावरी नगरपालिका–५, ६ लेन सडक किनारमै सुविधासम्पन्न गेटा मेडिकल कलेज पूर्वाधार निर्माणले गति लिएपछि जग्गाको मूल्य अकासिनुका साथै प्रतिकठ्ठा घडेरीको मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

धनगढी र अत्तरिया बजार क्षेत्रको भन्दा राजपुर, मोहनपुर, गेटा र तल्लो अत्तरिया क्षेत्रको घर–घडेरीको मूल्य बढेको छ । ‘गेटा–मनहेरा पुलसम्म तीन–चार वर्षअघिसम्म जंगल थियो । साँझ ६–७ बजे एक्लै हिँड्न डर लाग्थ्यो’, स्थानीय रमेश खत्रीले भने, ‘तर ६ लेन सडक, गेटा मेडिकल कलेज निर्माणले तीव्रता पाएसँगै सडक दायाँबायाँ घर तथा व्यावसायिक प्रयोजनका आवास बनेपछि यी स्थान गुलजार भए ।’

६ लेन सडकमा ८० किलोमिटर प्रतिघन्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ । उक्त सडकको दुवै साइडतिर तीन–तीन मिटर फुटपाथ रहने डिजाइन गरिएको छ ।

धनगढी र अत्तरियालाई एकआपसमा गाभेर महानगरपालिका बनाउनुपर्ने बहस पनि चल्न थालेको छ । अस्थायी राजधानी धनगढी र स्थायी राजधानी घोषणा गरिएको गोदावरी नजिकै रहेको व्यापारिक केन्द्र अत्तरिया एउटै सहर र नगरजस्तै जोडिएकाले महानगरपालिका बनाउने आधारलाई बलियो बनाएको सरोकारवाला बताउँछन् ।

हाल सुदूरपश्चिम प्रदेशभित्र एउटै महानगरपालिका नभएको अवस्थामा यी दुई नगर तथा सहरलाई जोडेर महानगरपालिका बनाउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य एवं सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्