त्यसो भए प्रचण्ड–ओलीलाई पनि जेल हाल्नु पर्छः नेता महत्तो

महेन्द्रनगर । जनता समादबादी पार्टी नेपालका बरिष्ठ नेता तथा प्रतिनिधि सभा संसद राजेन्द्र महत्तोले अधिकार,पहिचानका लागि आन्दोलन गर्नु अपराध भए पुष्पकमल दाहाल(प्रचण्ड) र केपी शर्मा ओलीलाई पनि जेल हाल्नु पर्ने बताएका छन् । सोमबार जनता समाजवादी पार्टी नेपाल कञ्चनपुरले आयोजना गरेको नेता,कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुगेका नेता महत्तोले त्यसो भनेका हुन् ।

अधिकार र पहिचानका लागि मधेसी, जनजाती,थारु,आदिवासीले आन्दोलन गर्दा अपराध गरे भनेर रेशम चौधरी लगाएतका नेता कार्यकर्तालाई जेल हालिएको नेता महत्तोले आरोप लगाए ।

‘आफ्नो अधिकार,पहिचानका लागि मधेसी,जनजाती,थारु,आदिवासीले आन्दोलन गर्दा अपराध हुने भए १७ हजारको हत्या गरेको माअओवादी आन्दोलनका नेता प्रचण्ड र झापामा बन्चरोले किसानका घाटी काट्ने ओली पनि अपराधी हुन् उनिहरुलाई खै त जेल हालेको ? उनिहरुलाई पनि जेल हाल्नु पर्छ ।’ नेता महत्तोले भने ‘थारुले आफ्नो पहिचानका लागि आन्दोलन गर्दै गर्दा टिकापुर घटना घट्योे तर राज्यले षड्यन्त्र गरेर रेशम चौधरी लगाएतका नेतालाई जेल हालियो ।’

टिकापुर घटना राज्य पक्षबाट नै घटाइएको नेता महत्तोले आरोप लगाए । ‘टिकापुर घटना राज्य पक्ष बाटै घटाइएको हो ।’ उनले भने ‘राज्य पक्षले षड्यन्त्र गरेर हाम्रा नेता रेशम चौधरी लगाएतका नेतालाई जेल हाले ।’ नेपालमा पटक पटक आन्दोलन भए, संविधान फेरिए तर मधेसी,जनजाती,थारुलाई गरिने,हेर्ने व्यवहार,नजर नफेरिएको नेता महत्तोले बताए ।

‘हाम्रो देशमा समान कानुन नै छैन ।’ उनले भने ‘समान कानुन भएको भए जनजातीका छोराले आन्दोल गर्दा अपराध गर्यो भनेर जेल हाल्ने तर प्रचण्ड,ओलीले आन्दोलनका नाममा जनताको हत्या गर्दा जेल नहाल्ने,अनि कसरी भयो त समान कानुन ?’ उनले अगाडी थपे ‘अस्ति मात्र सरकारले ८ सय जना कैदीलाई रिहा गर्यो तर रेशम चौधरीलाई गरेन ।’

उनकाअनुसार अब देश र जनताले नयाँ विकल्प खोजेको छ । ‘देश र जनताले नयाँ विकल्प खोजेका छन् ।’ उनले भने ‘त्यो विकल्पका रुपमा काम गर्न जनता समाजवादी पार्टी नेपाल खुलेको छ ।’ जनता समाजवादी पार्टी नेपालले हिमाल,पहाड,तराई सबैको अधिकार र पहिचानलाई समेटेर देशलाई समृद्धि तिर अगाडी लैजानने नेता महत्तोले दावि गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्