महेन्द्रनगर ३ चैत्र ।
प्रादेशिक स्वास्थ्य प्रयोगशाला धनगढीले सरकारी तथा निजि स्वास्थ्य संस्थाका ईवार्स सेन्टीनेल साईड(महामारीको समयमा रिर्पोटिङ गर्ने स्वास्थ्य संस्था) मा कार्यरत स्वास्थ्यकर्मीका लागि दुई दिने अभिमुखिकण कार्यक्रम आयोजना गरेको छ ।

सोमबारबाट महेन्द्रनगरमा सुरु भएको उक्त अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा महामारी र प्रकोपको पुर्व तयारी, जनशक्ती व्यवस्थापन, तथ्याङ संकलनबारे स्वास्थ्यकर्मीलाई तालिम दिईएको प्रादेशिक स्वास्थ्य प्रयोगशालाका ल्याब असिस्टेन्ट हिक्मत बडालले बताए । उनका अनुसार कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १७ वडा सेन्टीनल साईडमा कार्यरत पारामेडिक र मेडिकल प्याक्टीनरहरुलाई प्रकोप रोगबारे जानकारी दिईको हो ।

त्यस्तै स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीका अनुसार महामारीजन्य रोगव्याधि र प्रकोपबारे पुर्व सुचना तथा आवश्यक तथ्याङ्कका लागि रिर्पोटिङबारे स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराईएको हो ।

महामारीजन्य रोगको सहज नियन्त्रणका लागि तथ्याङ्कको आवश्यकता महत्वपुर्ण रहने बताउँदै उनले भने ‘त्यस्ता सुचनाको अर्लि वार्निङ रिर्पोटिङ सिस्टममार्फत महामारीको संक्रमणबारे अपडेट गराउने स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धी गराउन कार्यक्रम महत्वपुर्ण हुन्छ ।’

अभिमुखिकरण कार्यक्रममा डाक्टर योगेन्द्र शाह, धर्मानन्द जोशी लगायतका निर्देशनालयका भरत भट्ट, हेमराज जोशी र धर्मानन्द गिरीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

