महेन्द्रनगर १४ बैशाख ।
स्थानीय सरकारको नेतृत्व आउनुपर्व भीमदत्त नगरपालिकाको सबैभन्दा दुर्गमबस्तीको रुपमा चिनिने खल्ला, टुडिखेल र मच्छेट्टीले विकासको मुहार फेरेको छ । वर्षौँ देखि विकास न्यूनतम पुर्वाधारको अभाव रहेको भीमदत्त–९ को यी बस्तीमा स्थानीय सरकारको नेतृत्वपछि सडक, विद्युत र सञ्चार सेवाको पहुँचमा जोडिएको हो ।
सञ्चारका लागि भारतीय सिम कार्ड प्रयोग गदैँ आएको स्थानीयले मंगलबारबाट नेपाल टेलिकमको सञ्चार सेवा प्रयोग गर्न पाएका छन् । दुई महिना अगाडी मात्रै विद्युत सेवा पुगेको उक्त बस्तीमा सञ्चार सेवा सुरु भएपछि स्थानीय हर्षित बनेका छन् । संघिय संरचनापछि स्थानीय सरकारले प्रदेश सरकार र केन्द्र सरकारसँग पहल र आग्रहमा खल्ला, टुडिखेल र मच्छेट्टीको मुहार फर्ने सफल भएको हो ।
बस्ती स्थापनाकालदेखि नै अन्धकार र सन्चारसँगै सडक सुविधाबाट बन्चित रहेको खल्ला, टुडिखेल र मच्छेट्टीलाई विकासको लयमा ल्याउन भीमदत्त नगरपालिकाको नेतृत्वसँगै प्रतिनिधि सभा सदस्य डा. दिपक प्रकाश भट्ट, प्रतिनिधि सभाकासदस्य निरु पाल र प्रदेश सभाका प्रकाश रावलको विशेष भुमिका रहेको छ ।
भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले खल्ला, टुडिखेल र मच्छेट्टीवासीको वषौँपछि सपना पुरा भएको बताए । उनले विपन्न र दुर्गम क्षेत्रको विकास नगरपालिकाको उच्च प्राथमिकता रहेको बताए ।
नेपाल टेलिकमको टावरले सेवा सुचारु गरिसकेको भएपनि औपचारिक रुपमा सञ्चार सेवाको उद्धघाटन केही दिनमा गर्ने योजना रहेको छ । सडक, विद्युत र सञ्चार सेवा विस्तार भएपछि स्थानीयको जनजीवन सहज हुने अपेक्षा लिएको छ । योसँगै उक्त क्षेत्रमा खोनेपानि र सिचाँईका योजनापनि सञ्चालन भईरहेका छन् ।

