भवानी भट्ट
कञ्चनपुर — कञ्चनपुरमा हरेक दिनजसो एक सयको हाराहारीमा संक्रमित भएका छन् । तर परीक्षणको दर भने न्यून छ । पीसीआर मेसिनका लागि केमिकल र एन्टिजेन किट अभावका कारण परीक्षणको दर बढ्न नसकेको हो ।
महाकाली अस्पतालमा रहेको पीसीआर मेसिनले एक सिफ्टमा २४ नमुना मात्रै परीक्षण हुने गरेको छ । दिनमा दुई सिफ्ट गरेर ४८ नमुना मात्रै परीक्षण भइरहेको पीसीआर ल्याबका प्राविधिक केशवराज जोशीले बताए । ‘केमिकल आए पनि यो मेसिनको क्षमता बढी छैन,’ उनले भने, ‘एक सिफ्टमा १२ नमुना गरेर दिनमा ६०÷६५ नमुना परीक्षण गर्न सकिन्छ ।’ उनले थप उपकरणहरू ल्याउन सके मेसिनको परीक्षण क्षमता बढ्ने बताए । लक्षण देखिएकाहरू दिनहुँ परीक्षणका लागि अस्पताल धाउने गरेका छन् । तर पीसीआर परीक्षणको पालो नपाएपछि त्यतिकै घर फर्किरहेका छन् । ‘संक्रमण भएको १०÷१२ दिन भयो, अब फेरि टेस्ट गराउन खोजेको पालो नै पाइँदैन,’ कोरोना संक्रमित महेन्द्रनगरकै एक स्थानीयले भने, ‘अब त रिपोर्ट नेगेटिभ आउला भनेको परीक्षण नै गराउन सकेका छैनौं ।’
केही दिनयता कोरोना परीक्षणका लागि एन्टिजेन किटको पनि अभाव छ । गड्डाचौकी नाका, महाकाली अस्पताल र जिल्लाका नौवटै स्थानीय तहका लागि पर्याप्त मात्रामा एन्टिजेन उपलब्ध नहुँदा परीक्षणको दायरा बढाउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्र रावलले बताए । उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयबाटै सीमित मात्रामा आपूर्ति भएको छ । ‘एन्टिजेन किटकै अभावका कारण हामीले गड्डाचौकीमा परीक्षण घटाएका छौं,’ रावलले भने, ‘पालिकाहरूमा पनि माग गरेअनुसार किट पठाउन सकिएको छैन ।’ उनका अनुसार जिल्लाका नौवटै पालिका, महाकाली अस्पताल र गड्डाचौकी नाकामा पर्यााप्त मात्रामा परीक्षणका लागि हजार÷बाह्र सय एन्टिजेन किट आवश्यक पर्छ । तीन दिनअघि आएको ३ सय किट एकै दिन सकिएको उनले बताए ।
बुधबारसम्म गड्डाचौकी नाकामा दैनिक अढाई सयको एन्टिजेन परीक्षण हुने गरेको थियो । जिल्ला विपद व्यवस्थापन समितिले किट अभावका कारण कञ्चनपुर स्थायी घर भएकाको मात्रै परीक्षण गर्ने निर्णयपछि नाकामा परीक्षण घटाइएको हो । ‘कञ्चनपुर घर भएका सबैको परीक्षण भइरहेको छ, लक्षण देखिएका अन्यको पनि परीक्षण गरिरहेका छौं,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘विगतको भन्दा परीक्षण घटाएका छौं ।’ उनका अनुसार शुक्रबार गड्डाचौकी नाकामा ७४ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार कञ्चनपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २६ र एन्टिजेन परीक्षणबाट ३० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षणबाट भीमदत्त नगरपालिकामा २०, शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा २\२ तथा वेदकोट नगरपालिका र लालझाडी गाउँपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, एन्टिजेन परीक्षणबाट गड्डाचौकीमा ७ र महाकाली अस्पतालमा २३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा पीसीआर परीक्षण गराएका ३ सय ३७ र एन्टिजेन परीक्षण गराएका ४ सय ६६ संक्रिय संक्रमित छन् ।

