महेन्द्रनगर २६ बैशाख ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको रहेको कोरोना भाईरसको संक्रमण कञ्चनपुरमा पनि बढ्दो क्रममा छ । महाकाली अस्पतालाका शैयाहरु कोरोना संक्रमीतले भरिएका छन् ।
संक्रमितको उपचारका लागि ठाउँ अभाव हुन थालेपछि लामो समयदेखि निर्माण भएर थन्कीएको महेन्द्रनगर सिटी हललाई कोभिड अस्पताल तथा आईशोलेसनको रुपमा सञ्चालन गर्न स्थानीयल सुझाव दिएका छन् ।
तत्कालिन महेन्द्रनगर नगर विकास समितिले निर्माण गरेको सिटी हल अहिले भीमदत्त नगर विकास समिति अन्र्तगत छ ।
वेदकोट नगरपालिका–९ का स्थानीय मदन खडायतले लामो समय देखि थन्केर रहेको सिटी हललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याउनु पर्ने बताए । उनले संक्रमीतको उपचारका लागि ठाउँ अभाव हुन लागेकाले सिटी हल कोभिड अस्पतालका लागि उचित हुने उनले बताए ।
‘सिटी हल प्रयोगमा नआउँदा जिर्ण बन्दैँ गएको छ ।’ स्थानीय खडायतले भने ‘अहिले संक्रमितको संक्रमीतको संख्या बढी रहेकोले उपचारका लागि ठाँउ अभाव छ, त्यसैले सिटी हललाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याउनु उत्तम हुन्छ ।’ साथै पार्टी कार्यालय र अन्य सरकारी संस्थाका भवनलाई आईशोलसन र सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै स्थानीयले सामाजिक सञ्जालमार्फत सिटी हललाई कोभिड अस्पताल बनाउन सुझाव दिई रहेका छन् । स्थानीय हरिश जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत सिटी हललाई कोभिड अस्पताललाई बनाउनका लागि सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
त्यस्तै वेदकोटको स्थानीय सिरोमणी ओझाले पनि सिटी हललाई कोभिड अस्पताल बनाउन सुझाव दिएका छन् । फेसबुकमार्फत नै ओझाले पुरानो हुदैँ गएको सिटी हललाई अहिले कोभिड अस्पतालको रुपका सुचारु गर्न आग्रह गरेका हुन् ।
त्यस्तै कञ्चनपुरका पत्रकार डिल्लीराज पन्तले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माणपछि अलपत्र अवस्थामा रहेको सिटी हललाई कोभिड अस्पताल बनाउन सुझाव दिएका छन् उनले लेखेका छन् ‘हामीसँग उपलब्ध श्रोत साधन सदुपयोग गर्ने समय यहि हो, यो विषयमा सम्बन्धित निकायको ध्यानार्कष्ण होस् ।’
त्यस्तै पत्रकार पुष्कर भट्टले पनि जिल्लामा कोरोना संक्रमण अझै बढ्न सक्ने सम्भावना रहेकाले महेन्द्रननगर सिटी हललाई आईशोलेसन केन्द्रको रुपमा सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख एवंम नगर विकास समितिका अध्यक्ष सुरेन्द्र विष्टले नगरपालिकाले कोभिड अस्पताल र आईशोलेसन व्यवस्थापनका लागि काम गरिरहेको बताए ।
उनका अनुसार हाल आईसिएचको भवनमा कोभिड अस्पताल बनाउन तयारी भईरहेको छ । साथै नगरपालिकाले आवश्यक परेमा नगर क्षेत्रका पुर्वाधार एवंम श्रोत साधनलाई पुर्ण रुपमा प्रयोग गर्न तयार रहेको उनको भनाई छ ।