गृहको छानबिन टोली दार्चुलाबाट फर्कियो,जयसिंह धामीको खोजीविनमा प्रहरीको विशेष टोली खटाइयो

महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको गृह मन्त्रालयको टोली फर्किएको छ । उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली खटाएको थियो । झन्डै आठ दिन दार्चुला बसेको गृहको टोली सोमबार दार्चुलाबाट फर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता एवम् प्रहरी निरिक्षक नरेन्द्र भन्दले छानबिनका क्रममा गर्नूपर्ने सबै काम सकेर गृहको टोली सोमबार फर्किएको बताए । उनकाअनुसार गृहको छानविन टोलीले नदीमा बेपत्ता भएका धामीको परिवार,प्रत्यक्षदर्शी,अन्य सरोकारावाला पक्ष संग भेटघाट तथा घटनास्थलको स्थलगत निरिक्षण गरेको थियो ।

‘जिल्लाका सरोकारवालासँग छलफल, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बुझ्ने कामसँगै घटना स्थलको नेपाल र भारततर्फबाट स्थलगत निरीक्षणलगायतका काम सकेर सहसचिव ज्यूको नेतृत्वमा रहेको गृहको टोली फर्किएको छ,’ प्रहरी निरिक्षक चन्दले भने भने, ‘यहाँबाट फर्किए पनि उहाँहरु डडेल्धुरा,कञ्चनपुरमा र बैतडीको महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्ने छन् ।’

साउन १५ गते भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि महाकाली नदिमै खसेर जयसिंह धामी बेपत्ता भएका थिए । घटना घटेको ११ दिन वितिसक्दापनि धामीको अवस्था भने अझै अज्ञात छ । परिवारले उनी जिवितै भेटिने आशा मार्दै कुसको आकृति बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार समेत गरिसकेको छ ।

‘धामी अझै फेला परेका छैनन् ।’प्रहरी निरीक्षक चन्दले भने ‘ धामीका परिवारले उनको कुशको आकृति बनाएर दाहसंस्कार पनि गरिसकेका छन् । तर नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाल आर्मीको टोलीे महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी राखेका छन् ।’ उनले अगाडी थपे धामीको खोजीका लागि प्रहरी प्रधान कार्यालयले विशेष प्राविधिक टोली समेत खटाएको छ ।’

उनका अनुसार उक्त टोलीले अहिले महाकाली नदी क्षेत्रमा ड्रोनको प्रयोग गरेर धामीको खोजी गरिरहेको छ ।

धामीको न्यायका लागि भन्दै हस्ताक्षर अभियान शुरु

महाकाली नदीमा बेपत्ता धामीको न्यायका लागि भन्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा हस्ताक्षर अभियान सुरु गरिएको छ । मौलिक जरोकिलो पार्टीले शनिबारदेखि हस्ताक्षर संकलन अभियान शुरु गरेको हो । मौलिक जरोकीलो पार्टीका सुदूपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले धामी नदीमा बेपत्ता भएको घटनामा भारतीय पक्षको भूमिकाको भत्र्सना गर्दै पीडित परिवारको न्यायका लागि हस्ताक्षर अभियान संलकन गरिएको जानकारी दिए । उनकाअनुसार धामीको न्यायका लागि ९ हजार हस्ताक्षर संकलन गरेर प्रमुख जिल्ल अधिकारी मार्फत सरकारलाई बुुझाउने योजना रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्