सुदुरपश्चिम र प्रदेश २ मा माधव नेपाल हावि, एमालेभन्दा एकीकृत समाजवादीतिर लागे बढी सांसद

एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) तिर सांसदहरु खुल्ने क्रम जारी छ । निर्वाचन आयोगले भदौ २२ सम्म एमाले छाड्ने समय दिएपछि प्रदेश सांसदहरुले नवगठित नेकपा एस रोज्ने क्रम मंगलबारदेखि सुरु भएको छ । मंगलबार देशका तीनवटा प्रदेशमा एमाले सांसदहरुले निर्वाचन आयोगका स्थानीय कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

बागमतीबाट १२ जना

यो क्रममा भदौ २१ गतेसम्म जारी रहनेछ। मंगलबार बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकै मन्त्रिमण्डलका सदस्य सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ सांसदले एमाले छाडेका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर खनालसहित १२ सांसदले एमाले छाडेर नेपाल नेतृत्वको नेकपा एसतर्फ सनाखत गरेका हुन् । नेकपा एस रोजेका सांसद लक्ष्मण लम्सालले बागमतीमा १४ देखि १५ जना सांसदले एमाले छाड्ने बताए। मंगलबार नेकपा एस रोज्नेहरूमा अबको मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डे पनि छन् ।

त्यहाँ राजेन्द्र पाण्डे, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरे । नेपाल पक्षले बागमतीमा नयाँ पार्टीको पक्षमा सनाखत गर्नेहरु १४ देखि १५ जना पुग्ने दाबी गरेको छ। १२ जना सांसद एमाले छाडेर नेकपा एसमा लागेपछि शाक्यको सरकार अब स्पष्ट अल्पमतमा परेको छ ।
अल्पमतमा परेपछि उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ। बागमतीमा शाक्यलाई हटाएर नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले शाक्य आफ्नो पक्षमा नखुलेमा हटाउनुको विकल्प नरहेको बताएका छन्।

लुम्बिनीमा एकजना

लुम्बिनीमा एमालेकी एकजना समानुपातिक सांसदले मात्रै माधव नेपालको पार्टी रोजेकी छन्। पाल्पाबाट समानुपातिकबाट निर्वाचित घर्ती मगरले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी हुन्।
घर्तीले दाङस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन्।
प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहवरमा घर्तीले नेकपा एकीकृत समाजवादीतर्फ हस्ताक्षर गरी सनाखत गरेकी हुन्। लुम्बिनी प्रदेश सभाका एमालेका ३८ प्रदेशसभा सदस्यमध्ये घर्तीले मात्रै मंगलबार एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। उनले अरु केही सांसद पनि नयाँ पार्टीमा आउने दाबी गरिन्।
घर्तीले एकीकृत समाजवादी रोजेसँगै प्रदेश सभामा दलको संख्या ६ पुगेको छ। एमाले विभाजन गरेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए ।
सुदूरमा १० जना
नेकपा एमालेबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। समाजवादीतर्फ खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत मंगलबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन्।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमाले १३ सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका थिए । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन बनेका सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराजको खोजी भइरहेको सोडारीले बताएका थिए।
हराएका भनिएका दुई सांसदले केपी शर्मा ओली र माधव नेपाल दुवैतिर बार्गेनिङ गरेको खुलेको छ। तर उनीहरु दुवैले केही दिनमा नेकपा एसमै सनाखत गर्ने सम्भावना छ।

नेकपा एसमा सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।

समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेनन्। छैनन्। हराएका भनिएका दुई सांसदको खोजीमा लागेकाले सोडारीले पनि सनाखत गर्न बाँकी छ।
प्रदेश १ मा १० जना खुले
प्रदेश १ मा हालै मात्र मुख्यमन्त्री भएका भीम आचार्यलाई संकटमा पार्ने गरी एमालेका १० जना सांसद नेकपा एसतिर खुलेका छन्।नेकपा एसतिर खुलेका ती १० जना सांसदलाई चार दिनसम्म विराटनगरको एक होटलमा राखिएको थियो। तर होटलमा थुनेर राखेको भन्दै आलोचना भएपछि नेकपा एसतिर लागेका सांसदलाई विराटनगरबाट अन्यत्रै सारिएको छ ।
होटलमा बस्दा विभिन्न आरोप लागेपछि होटल छाडेर हिँडेको समाजवादीका एकजना केन्द्रीय सदस्य एवम् प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए । उनले आफू इटहरीमा रहेको बताउँदै केही सांसदहरु धरानतिर गएको बताए। प्रदेश १ मा यी १० सांसदले बुधबार नेकपा एसतर्फ सनाखत गर्नेछन् ।

प्रदेश १ मा सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काङमाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदम कुमारी गुरुङ माधव नेपालतिर खुलेका छन्।
राजेन्द्र, गणेश र कृष्णकुमारी माधव पक्षका केन्द्रीय सदस्य हुन्। उनीहरुले काठमाडौंस्थित निर्वाचन आयोगमा आएर नयाँ पार्टीको पक्षमा सनाखत नै गरेका थिए । यससँगै मुख्यमन्त्री भीम आचार्यको सरकार अल्पमतमा पर्ने भएको छ। एमाले विभाजनपछि निवर्तमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै आचार्य मुख्यमन्त्री बनेका थिए । एमालेका ५१ मध्ये १० सांसद नयाँ पार्टीमा लाग्ने भएपछि उनको सरकार अल्पमतमा पर्ने निश्चित भएको हो। आचार्यले गत बिहीबार मात्र मुख्यमन्त्रीको शपथ लिएका थिए।

प्रदेश २ मा नेकपा एस बलियो

प्रदेश २ मा नेकपा एमाले भन्दा नेकपा एस बलियो देखिने भएको छ। त्यहाँ नेकपा एमालेबाट १३ जना सांसद नेकपा एसतिर लाग्ने एकजना सांसद शत्रुधन महतोले बताएका छन्। प्रदेश २ मा एमालेका १९ सांसद छन्। जसमध्ये ६ जना मात्रै नेकपा एमालेमा रहने अवस्था आएको छ। हाल उपचारका लागि भारतमा रहेका सांसद डिल्ली उप्रेती पनि नेकपा एसमै खुल्ने बताइएको छ।

प्रदेश २ मा एमाले सांसदहरु गोविन्द न्यौपाने, मञ्जु कुमारी यादव, बेची लुङ्गेली, अशोक यादव, सीता गुरुङ, मदनसिंह श्रीवास्तव, प्रमोद कुमार यादव, रवीन्द्र बैठा, सुन्दर विश्वकर्मा, शत्रुधन महतो र डिल्ली उप्रेती नेकपा एसतिर लाग्ने भएका छन् । उनीहरु निर्वाचन आयोगमा सनाखतपछि सरकारमा जाने तयारीमा छन्। सत्तारुढ गठबन्धनले पनि नेकपा एसलाई सरकारमा सहभागी गराउने तयारी गरेको छ ।

गण्डकी र कर्णाली प्रदेशमा एमाले विभाजनको असर प्रष्ट देखिइसकेको छैन। गण्डकीमा माधव नेपाल पक्षीय सांसदको उपस्थिति नगन्य छ । उता कर्णालीमा यसअघि नै एमालेको ह्विप उलंघन गर्दै माओवादी नेतृत्वको सरकारलाई सघाएका माधव नेपाल पक्षीय चार सांसदको पद एमालेले खोसिसकेको छ ।
यसरी पद खोसिएकामा तीनजना कर्णाली सरकारको मन्त्री छन्। अर्का सांसद प्रकाश ज्वालालाई एमालेले यसअघि नै पार्टीबाट निकालिसकेको छ । नयाँ परिस्थितिमा माधव नेपालतिर खुल्ने सांसदहरु एकीन भइसकेको छैन । यी चार सांसदको पद गएसँगै एमालेले कर्णालीमा सरकारमाथि एकल बहुमतको दाबी पनि गुमाइसकेको अवस्था छ । यो समाचार नेपाल खबरबाट लिएका हौँ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्