२४ घण्टामा २० जनाको मृत्यु, २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित
काठमाडौँ — पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा बुधबार थप १ हजार ६ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६३ हजार ३ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ३ सय २३ परीक्षणबाट ४ सय ४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १९ हजार ३ सय ३६ छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ । नेपालमा २० जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।